बेपत्ताको खोजी सुरु

इनेप्लिज २०७२ फागुन ५ गते ३:१९ मा प्रकाशित

चितवन, ५ फागुन । त्रिशूली नदीमा मङ्गलबार साँझ जलयात्रा जाँदा पल्टिएर बेपत्ता भएका एक जनाको खोजी आज बिहानैदेखि सुरु गरिएको छ ।

कविलास गाविस–१ स्थित त्रिशूली नदीमा रूखको हाँगामा ठोकिएर दुर्घटना भएको हो । बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय विवेक बानियाँ भएको प्रहरीले जनाएको छ । गाईघाटबाट देवघाटतर्फ आउँदै गरेको डुङ्गामा १२ जनामध्ये अन्य ११ जना भने पौडिएर निस्केको सीमा सुरक्षा बल आँपटारीका प्रहरी उपरीक्षक विदुर खड्काले बताउनुभयो ।

मङ्गलबार बेलुका ५ बजेको घटना भए पनि ७ बजेतिर मात्रै प्रहरीलाई खबर आएको थियो । खोजीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोरको समूह बिहानदेखि सक्रिय रहेको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । सो स्थलमा पानीको बहाव तीव्र भएकाले खोजी कठिन भएको जनाइएको छ ।

प्रतिक्रिया