गरिब जनताको आर्थिकस्तर उठाउने माध्यम सहकारी: प्रचण्ड

इनेप्लिज २०७२ फागुन ४ गते १६:०९ मा प्रकाशित

Rss_Images_1434276113788_NG-Npj-Prachandaकाठमाडौँ, ४ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहकारीलाई वास्तविक गरिब जनताको आर्थिकस्तर उठाउने माध्यम बनाउने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी सङ्घको प्रतिनिधिमण्डलले आज बुझाएको एक सुझावपत्र ग्रहण गर्दै उहाँले समाजवादको आधार तयार पार्ने महत्वपूर्ण आधार नै सहकारी भएकाले त्यसलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्ने र गरिब जनताको आर्थिकस्तर सुधार गर्न ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सरकारले निकट भविश्यमा नै व्यवस्थापिका–संसद्मा पेस गरेको सहकारीसम्बन्धी ऐनलाई सहकारी आन्दोलनको भावनाअनुसार अगाडि बढाउन आफूले पहल गर्ने विश्वाससमेत उहाँले दिलाउनुभएको सङ्घका अध्यक्ष केशव बडालले जानकारी दिनुभयो ।

सहकारी ऐनलाई सहकारी आन्दोलनको भावनाअनुसार अगाडि बढाउन आग्रह गर्दै सङ्घले केही सुझाव पेस गरेको जनाएको छ । आफूहरुले प्रस्तुत गरेको सुझावप्रति अध्यक्ष दाहाल सकारात्मक रहनुभएको र सहकारीमैत्री ऐन ल्याउन आफूले सक्दो प्रयास गर्ने विश्वाससमेत दिलाउनुभएको सङ्घका उपाध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिनुभयो ।

विजेता टोलीलाई बधाई

यसैबीच अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश दिनु हुँदै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उल्लेखनीय सफलता प्राप्त गर्न सफल फुटबल टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले साग खेलकुदमा नाम राखेकामा फुटबल टोलीलाई बधाई तथा शुभकामना दिँदै अन्य खेलकुद प्रतियोगितामा सफलता प्राप्त गर्ने खेलाडीलाई समेत आगामी दिनमा थप हौसला प्राप्त होओस् भन्ने कामना समेत गर्नुभएको छ ।

अध्यक्ष दाहालको शुभकामना सन्देशमा भनिएको छ ‘‘खेलकुदमा नेपालले प्राप्त गरेको सफलताले नेपाली मात्रलाई खुसी बनाएको छैन, नेपाल र नेपालीको पहिचान समेत अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको छ ।’’

प्रतिक्रिया