भूकम्पमा हराएका अझै बेखबर

इनेप्लिज २०७२ फागुन ४ गते १३:२१ मा प्रकाशित

दोलखा, ४ फागुन । भूकम्प गएको ११ महिना बित्दासमेत भूकम्पमा हराएका नागरिकका आफन्त अझै बेखबर छन् ।

दोलखामा भूकम्पका कारण बेपत्ता भएका नागरिक आठजना छन् । घरबाट काम गर्न जाने सिलसिलामा हराएका १४ जनामध्ये अहिलेसम्म छजनाको अवस्था पत्ता लागेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भुषाफेदा–४ का ७४ वर्षीय नरबहादुर मोक्तान, भिरकोट–९ का ४५ वर्षीय टङ्कबहादुर मगर, ओराङ–५ का ५६ वर्षीय पासाङ तामाङ, आलम्पु–६ का २० वर्षीय अशोक थामी, लापिलाङ–५ का ३९ वर्षीय नेत्रकुमार थामी, लामाबगर–५ का ४५ वर्षीय राम तामाङ, लामाबगर–३ का पेमानुर्बु शेर्पा, लामाबगर–२ का पासाङछिरिङ गुरुङ हालसम्म पनि बेपत्ता अवस्थामा छन् ।

परिवार उनीहरुको बेखबर अवस्थाबारे चिन्तित छ । परिवारले बेपत्ता भइसकेकाको नाममा कुनै खालको राहतसमेत प्राप्त गर्न सकेको छैन । जिउँदो भएको भए आउँथ्यो होला, हामीलाई बाँचेको छ भन्ने छैन, त्यसकारण बेपत्ता परिवारलाई पनि उचित क्षतिपूर्ति राज्यले दिनुप¥यो भन्छिन् बेपत्ता भएका नेत्रकुमार थामीकी श्रीमती लक्ष्मी थामी ।

बेपत्ता परिवारका व्यक्ति चिन्तामा डुबेका त छदैछन्, उनीहरुलाई राज्यले आफ्नो परिवारका सदस्य यतिका समयसम्म हराउँदा समेत पत्तो नलगाइदिँदा त्यतिकै दुखेसो पोखिरहेका छन् । परिवारका आफन्त भन्छन्, “अब हामीलाई हाम्रा आफन्त बाँचेका छन् भन्ने लाग्दैन । बाँचेको भए हामीले कुनै न कुनै तरिकाबाट थाहा पाउनुपर्ने हो ।”

लापिलाङ–५ का हराइरहेका नेत्रकुमार थामीकी श्रीमती लक्ष्मी थामी भन्नुहुन्छ, “न मेरो श्रीमान् बाँचेका छन् न मरे, कुनै अत्तोपत्तो छैन, हामीले राहतका नाममा एक थान त्रिपालबाहेक केही पाएको छैन ।”

हालसम्म भूकम्पबाट बेपत्ता भएका नागरिकको अवस्थाबारे बेखबर हुनुमा राज्य पक्षलाई दोषी देखाउँछन् बेपत्ता परिवारका आफन्तहरु । उनीहरु भन्छन् “भूकम्पमा मृत्यु भएका व्यक्तिहरुसरह राज्यले हामीलाई हेर्नुपर्छ । हराएका १४ मध्ये हाल छजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीको भनाइ रहेको छ । प्रहरी भन्छ, यी बेपत्ता व्यक्ति जिउँदै छन् भन्ने अवस्था पनि छैन ।”

प्रतिक्रिया