भीमदत्तनगर, ४ फागुन । कञ्चनपुरमा सुरक्षित प्रसूति सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बितेको १७ महिनामा साढे आठ हजार भन्दा बढी महिलाले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिएका छन् ।
यहाँका महिलामा चेतनाको वृद्धिसँगै प्रसूति सेवा लिने क्रम बढेको जनस्वास्थ्य कार्यालयको भनाइ छ । आव ०७१/७२ मा छ हजार ३५ र चालु आवको मङ्सिर महिनासम्म दुई हजार ८६७ गरी बितेको १७ महिनामा आठ हजार ९०२ जना महिलाले यहाँका स्वास्थ्य संस्थामा पुगेर सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले जानकारी दिनुभयो ।
यहाँ स्वास्थ्य सेवा दिइरहेका २१ वटा स्वास्थ्य संस्थामध्ये १८ वटा स्ांस्थाबाट जनस्वास्थ्य कार्यालयले प्रसूति सेवा दिइरहेको छ । चालु आवको साउनमा ५९०, भदौमा ६२४, असोजमा ५८६, कात्तिकमा ५५१ र मङ्सिरमा ५१६ जना महिलाले प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएका छ ।
“स्वास्थ्य संस्थाहरुमा आएर प्रसूति सेवा लिँदा सुत्केरी पनि सुरक्षित हुन्छन् ।” गिरीले भन्नुभयो – “राज्यले पनि उहाँहरुलाई सुविधा दिएको छ ।” स्वास्थ्य संस्थामा आएर सेवा लिने प्रतिसुत्केरी महिलालाई सरकारले यातायात खर्चबापत रु ५०० समेत प्रदान गर्दै आएको छ भने गर्भवती भएको समयमा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई समेत गर्भवती उत्पे्ररणास्वरुप रु ४०० दिने गरेको छ ।
प्रतिक्रिया