नवलपरासीमा खोलाजन्य पदार्थको चोरी निकासी

इनेप्लिज २०७२ फागुन ४ गते ३:२५ मा प्रकाशित

नवलपरासी, ४ फागुन । नवलपरासीका विभिन्न खोलानालाबाट अवैध रुपमा खोलाजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी बढेको छ । जिल्लाको सबैभन्दा बढी सुनवलको तुरिया खोलाबाट दिनहुँ यस्तो चोरी निकासी हुने भए पनि प्रहरी प्रशासन चोरी निकासी रोक्ने कार्यमा सक्रिय देखिदैन ।

प्रहरी प्रशासनले पटक पटक तुरिया खोलाबाट अवैध रुपमा खोलाजन्य पदार्थ निकालेको भन्दै दर्जनाँै ट्र्याक्टर र सवारी साधन पक्राउ गरे पनि सामान्य जरिवाना मात्र लिई छाडिदिने गरेपछि अवैध रुपमा खोलाजन्य पदार्थ निकाल्ने क्रमले बढदै गएको छ ।

यसरी अवैध रुपमा जिल्लाका विभिन्न खोलानालाबाट खोलाजन्य पदार्थ चोरी निकासी हुने गरे पनि प्रहरी प्रशासनले भने विभिन्न बहाना बनाउँदै यसलाई रोक्नतर्फ कुनै चासो देखाएको छैन ।

जिल्ला विकास समितिले आवको अन्तिममा खोलाजन्य पदार्थको ठेक्का बन्दोबस्त गर्दै आएको भए पनि यस वर्ष खोलाहरुको वातारण प्रभाव मूल्याङ्कन नभएको र कतिपय खोला राष्ट्रपति चुरे संरक्षणअन्तर्गत परेकाले पनि ठेक्का लगाउन नसक्दा चोरी निकासी बढेको छ ।

तुुरिया जस्तै जिल्लामा रहेका एक दर्जन खोलामा जिविसले ठेक्का लगाउन सकेको छैन । गत आवमा लगाएका ठेक्काबाट निकालिएको स्टक बिक्री गरेर नसकिएकाले जिविस र ठेकेदारको मिलेमतोमा खोलाको ठेक्का हुन सकेको छैन ।

जिविसले अहिलेसम्म जिल्लाका दुईवटा खोलाबाहेक अन्य कुनै पनि खोलानालाबाट नदीजन्य वस्तु निकासीका लागि ठेक्का लगाएको छैन ।

प्रतिक्रिया