यौन तथा प्रजनन स्वास्थ्यमा अपाङ्गता भएकाहरुको पहुँच खाई ?

इनेप्लिज २०७२ फागुन ४ गते ३:२४ मा प्रकाशित

काठमाडौँ, ४ फागुन । यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अपाङ्गता भएकाहरुको अझै सहज पहुँच पुग्न सकेको छैन ।

सुनौलो परिवार नेपाल, मेरी स्टोप्स र अस्ट्रेलिया एडको संयुक्त आयोजनामा सोमबार भएको ‘अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य अनुसन्धान प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा अनुसन्धानकर्ता रामचन्द्र गैरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनले विभिन्न छ जिल्लाका युवामा गरिएको अध्ययनले यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था अपाङ्गमैत्री बन्न नसकेको देखाएको छ ।

कास्की, सिरहा, पर्सा, बारा, ललितपुर र मोरङमा दुई वर्ष लगाएर २९३ युवासँग गरिएको अध्ययनमा उनीहरुमध्ये ५४ प्रतिशतले स्वास्थ्य संस्थाको भौतिक संरचना अपाङ्गमैत्री नभएको बताएका थिए । यसैगरी ५१ प्रतिशतलाई सुरक्षित गर्भपतनबारे जानकारी नै नभएको पाइएको थियो ।

स्वास्थ्यकर्मीको व्यवहारकै कारण कतिपय अपाङ्गता भएकाहरु आफ्नो यौन तथा प्रजननबारे जिज्ञासा राख्न पनि नसक्ने र राखे पनि राम्रो जवाफ र व्यवहार नपाउने गरेको गुनासो गरेका थिए । दोभाषेको अभावकै कारण आफ्ना स्वास्थ्य समस्याबारे स्पष्ट बताउन नसक्ने भएकाले स्वास्थ्य संस्थामा दोभाषेको व्यवस्था हुनुपर्ने माग उनीहरुको थियो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव हुमकला पाण्डेले सरकारले अपाङ्गता भएका व्यक्तिका लागि गरेको व्यवस्थाबारे जानकारी दिँदै कुल जनसङ्ख्याको पाँच लाख १३ हजार अपाङ्गता भएकाहरु रहेको बताउनुभयो ।

गत वैशाख १२ र त्यसपछिका परकम्पका कारण करिब चार हजार व्यक्ति अपाङ्ग बन्न पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत नमिता घिमिरे, मेरी स्टोप्सका निर्देशक केपी उपाध्यायलगायतले अपाङ्गता भएकाहरुले आफ्नो यौन तथा प्रजनन स्वास्थ्यबारे चासो राख्नु र खुलेर आफ्ना समस्या भन्नु सचेतनाको प्रभाव भएको बताउँदै उनीहरुको स्वास्थ्यमा पहुँच बढाउन सरकारी निकायबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया