छलियानाच सुदूरपश्चिममा लोप हुँदै

इनेप्लिज २०७२ फागुन ४ गते ३:२१ मा प्रकाशित

डडेल्धुरा, ४ फागुन । डडेल्धुरालगायत सुदूरपश्चिमभरि नै प्रख्यात रहेको छलिया नाच लोप हुने थालेको छ ।

आधुनिक प्रविधिका कारण विवाह, जन्तीभोज न्वारनजस्ता कार्यक्रममा दमाहा (पञ्चेबाजा)का साथमा नाचिने छलिया नाच हराउँदै गइरहेको बूढापाका बताउँछन् ।

प्रायः गरेर विवाह भोज, वर्तबन्धमा छलिया बाजाका साथमा नाचिने छलिया नाच आधुनिक सङ्गीत भित्रिनाले हराउँदै गइरहेको समैजी–५ का ७० वर्षीया गजबहादुर भण्डारीले बताउनुभयो ।

छलिया नाच डडेल्धुरालगायत बैतडी, डोटी, अछाम, दार्चुलालगायतका जिल्लामा पनि नाच्ने भए तापनि यो नाच जिल्ला अथवा गाउँ परिवेशअनुसार फरक फरक किसिमले नाच्ने गरेको पाइन्छ ।

छलिया नाचले भाइचाराका सम्बन्ध प्रगाढ बनाउनुका साथै आफ्ना नातागोता सहदोर साथी भाइसँगको सम्बन्ध इष्टमित्र आदिलाई नजिक बनाउने माध्यमका रुपमा पनि यसलाई लिने गरेको पाइन्छ । छलिया नाच पुर्खौंदेखिको संस्कृतिका रुपमा पनि रहेको र यसको ठूलो अर्थ र महत्व रहँदै आएको अमरगढी–६ दमडाका ६५ वर्षीया लक्ष्मण भट्ट बताउनुहुन्छ ।

समूहमा नाचिने छलियाको हाउभाउ, कम्मर पैतालाको तरिका सबैजनाको एकैसाथ एउटै गर्नुपर्ने भएकाले सबैजनाले यो नाच लगाउन गारो नै पर्ने दमाहा बजाउने लक्ष्मण ढोली बताउनुहुन्छ । केही वर्षयता आधुनिक बाजा तथा सङ्गीत भित्रिनाले पञ्चेबाजाको पनि लोकप्रियता घट्दै गइरहेको बूढापाको भनाइ रहेको पाइन्छ ।

सहरमा खुलेका नाचघर र आधुनिक सङ्गीत डिजे, बम्फर, साउण्ड सिस्टमले पञ्चेबाजाको लोकप्रियताका साथै छलिया नाचको प्रचलन हराउँदै गइरहेको छ ।

प्रतिक्रिया