खानेपानी आयोजना निर्माण सुरु

इनेप्लिज २०७२ फागुन १ गते ४:०२ मा प्रकाशित

इलाम, १ फागुन । इलाममा साढे छ करोडको लागतमा ३५ वटा भन्दा बढी खानेपानी आयोजना निर्माण सुरू गरिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका अनुसार छ करोड ५१ लाखको लागतमा जिल्लाका विभिन्न गाउँ विकास समितिमा खानेपानीका आयोजना सुरू गरिएको हो ।

कार्यालयका अनुसार पाँच वटा नयाँ र ३० वटा क्रमागत खानेपानीका आयोजना रहेका छन् । माइमझुवाका सबै वडा, बाँझो ८, ९ मा खानेपानी विस्तार, समालबुङ र दानाबारी खानेपानी आयोजनाका लागि दुई÷दुई लाखका दरले बजेट विनियोजन भई काम सुचारू छ ।

बरबोटेस्थित मान्द्रेनी खानेपानी आयोजनाका लागि रू एक करोड, चुलाचुलीका लागि रू एक करोड १० लाख विनियोजन निर्माण चरणमा छन् । चिसापानी, जिर्मले, धुसेनी र, महमाई खानेपानी आयोजनामा २५ लाखका दरले रकम विनियोजन गरी निर्माणाधीन अवस्थामा रहेका सो कार्यालयका प्रमुख पदम कुवँरले जानकारी दिनुभयो ।

जोगमाई, शान्तिपुर नेहित, माईपोखरी, मिक्लाजोङ, शान्तिपुरको कागुने खानेपानी आयोजना र पशुपतिनगर खानेपानी आयोजनाका लागि १८ लाखका दरले रकम विनियोजन भई काम भईरहेको छ ।

कन्याम खानेपानी योजनामा ३८ लाख, पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजनामा २० लाख, इङ्ला जमुना खानेपानी आयोजनामा १२ लाख, फूएतप्पा खानेपानी आयोजनामा १२ लाख, फिक्कल–गोर्खे–नयाँबजार खानेपानी आयोजनाका लागि २४ लाख, टिमाईखोला छावाखोल्सी खानेपानी आयोजनाका लागि १५ लाख बजेट विनियोजन गरी निर्माणको काम दु्रत गतिमा अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
इलाममा करिब साढे चार सय खानेपानी आयोजना मर्मतसम्भारको पखाईमा रहेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया