मसँग राष्ट्रियता छैन

इनेप्लिज २०७२ माघ २९ गते ११:५७ मा प्रकाशित

neelam

मसँग राष्ट्रियता छैन

मसँगबाट राष्ट्रियता हराएको छ
यसर्थ मेरो जन्मभूमिको सन्दर्भमा
बोल्ने कुनै अधिकार छैन मलाई !

वृद्ध बिरामी जननी
रगताम्य जन्मभूमि छाडेर
पराई माटोमा पसिना बगाउन हिँडेको यो यात्री
स्वयम्लाई खबरदारी
प्रेम गर्ने अधिकार छैन यतिबेला मेरो देश भनी
खबरदार, नछो मेरा हातहरू मेरो देशको झन्डा !

त्यस्तो के बाध्यता देशै छाडी हिँड्नुपर्ने ?
भएको के थियो र त्यस्तो देशको माया मार्नुपर्ने ?

अभावले आत्तिएको बखत
टेबलमुनिबाट
सहयोग साटासाट गरेकै भए के जान्थ्यो ?
किन ती महान् प्रस्तावहरू
स्वीकारोक्तिविना लत्याइयो
उपल्ला प्रशासन आदेशमा
विना बिरोध टिप्पणी उठाएको भए
रोजी–रोटी कसले खोस्ने थियो ?
परदेशी हुनुको मार्ग कसले कोर्ने थियो ?

वेरोजगारी अँध्यारोमा पलायनको निर्णय
समय परिभाषित शब्दार्थ
– परदेशिनेसँग हुँदैन राष्ट्रियता
सोही परिभाषा टेकेर म भनिरहेछु
मसँग रहेन मेरो राष्ट्रियता !

मेरो देशलाई महाविपत् परेको यो घडीमा
घाइते बोक्नुपर्ने काँध
मिहि खाबो उभ्याउनुपर्ने पाखुरीको बल
भग्नावेश पन्छाउनपर्ने हातहरू
यो भूमिमा लरीबाट मदिराका भारी बोकिरहेछु
प्रलयकारी भूकम्प २०७२ ले
क्षत–विक्षत् पारेको त्यो धर्ती र मन
भूकम्पपश्चात् पहिरोले निसान मेटाएको
मेरो राष्ट्रका गाउँ
भूकम्पले ढलाएको घर
भूकम्पले मेटाएको सांस्कृतिक धरोहर

घर देशमा मेरो देशको प्रधानमन्त्रीले
देऊ मेरो देश पुनर्निर्माणको निम्ति भन्दै
सहयोगको निम्ति दातृसमक्ष हात बढाएको बेला
परदेशमा मैले पनि शिरको टोपी खोलेर
डोनेसन निम्ति माग्ने हात बढाएछु –
देऊ मेरो देशको भोकको निम्ति भन्दै

भुसुक्क बिर्सिएछु
म राष्ट्रियता नभएको मान्छेले
प्रिय राष्ट्रवासी नाममा सहयोग याचना राख्नु पनि हुँदैन

आमा म फर्किऊँ क्यारे
देश रोएको बखतको जबाफमा
आमा भन्नुहुन्छ,
तिमी फर्की आए हाम्रो भत्किएको घर कसले बनाउँछ ?
दीर्घरोगी यी आमा–बाको ओखती कसले गर्छ ?
भाइको बैशाखीको बन्ने छ ?
तिम्रो सन्तानको भविष्यको जिम्मेवारी कसले उठाउँछ ?
घरको नून–तेल गुजारा कसै गरी गरूँला
तर तिम्रै भरमा स्कुल हिँडेका भुराहरूको
कलम भाँचिनेछ
तिमी फर्की आउने कुरा नगर बाबू
अब त भएको जमिन पनि चिरा परेको छ
हाम्रो बिछोडमा चिरिएको छातीभन्दा बेसी

म राष्ट्रियता हराएको मान्छेलाई
मेरो आमाले देश फर्कन अनुमति दिनुसक्नु हुन्न !

म डलरमा बेचिएको मान्छे
– अलि कति बा–आमाको
ओखती र सन्तानको भविष्य भएर बाँचेको छु
– अलिकति पत्नीको साथ र भरोसा भएर
– अलिकति आफन्तीको गाह्रो साह्रोको भर र
– पाटी–पौवाको सुकुल भएर बाँचेको छु
अलिकति अलिकतिमा छरिएर जोडिएर बाँचेको छु


उपरान्तका केही समय महाभूकम्प र परकम्पनको लागि
कम विश्राम बढी श्रम बाँच्ने छु
प्रलयले ढलाएका घरको पुननिर्माण भएर हाँस्नेछु

यो राष्ट्रियता नभएको मान्छेलाई
देशको चासो राख्ने अधिकार छैन भन्दाभन्दै
परदेशमा यो अराष्ट्रियको बिहान सुरू हुन्छ
आफ्नै देशको समाचारबाट
यो राष्ट्रियता हराएको यो मान्छेको
मनभर दुख्छ उही देश
बिर्सन्छु यो राष्ट्रियता हराएको यो मान्छेले
मुटुमा देश दुखेको बेला ऐया पनि भन्नु हुन्न
तर निस्किन्छ आवाज स्वःस्पूmर्त बाहिरै सहकर्मीले सुन्ने गरी
आँसु झर्नु हुन्न भन्छु
तर बग्छ अश्रुधारा लुकीछिपी पुछ्नुपर्ने गरी
देशको कविता कोर्नु हुँदै हुन्न भन्छु
तर कोरिन्छ उही मानचित्र र लेखिन्छ
– ‘मेरो प्यारो नेपाल’
सबै–सबैले देख्नेगरी

घर–देश,
मजस्तै युवालाई निःशुल्क भिसा टिकटमा
विदेश निर्यात गर्ने संयन्त्रमा जुटेको बखत
कामदार पैठारी अङ्क हिसाबमा
म एक सङ्ख्या घटेको छु

देश निर्माताको पैठारी सूचीमा राख्नसमेत नपाएको म मान्छे
जताबाट हे¥यो राज्यको निम्ति कामै नलाग्ने म मान्छे
हो, म राष्ट्रियता नभएको मान्छे !

प्रतिक्रिया