यस्ता नचाहिने हल्ला किन भए, मलाई थाहा छैन ,सुशीलदाका कान्छा भाइ विजय भन्छन्–अस्पताल नलगेर गल्ती भयो

इनेप्लिज २०७२ माघ २९ गते ५:०७ मा प्रकाशित

1461141124

काठमाडौं ।  राति सुत्दा जहिले पनि मोबाइल फोन बिहानको पौने पाँच बजेको अलार्म लगाएर सुत्छु । १०, साढे १० बजेतिर सुत्छु । बिहान पौने पाँच बजेको अलार्म हुन्छ । गत सोमबारको रात पनि उस्तै गरी १० बजेतिरै सुतेँ, अलार्म उस्तै गरी सेट गरेको थिएँ । अलार्म बज्यो । ए, पौने पाँच बजेछ, भनेर अलार्म बन्द गरिदिएँ । बन्द गरेको एकैछिनमा फेरि फोन बज्यो । फ्याट्ट उठाएँ, भतिजी नम्रताले फोन गरेकी रहिछे । ‘सुशीलदा एकदम सिरियस हुनुुहुन्छ, जिउबाट खलखली पसिना आइरहेको छ, अंकल,’ भनी । मैले भनँे, अब के हेरेर बस्ने त, हस्पिटल लिएर जाओ भनेर फोन राखिदिएँ । अलार्मअनुसार पाँच बज्न लागिसकेकाले अब फेरि सुत्ने होइन, नित्यकर्म गर्नतिर बाथरुम गएँ । दाँत माझ्ने, मुख धुने गरेँ । बाथरुमको ढोका खोलेर बाहिर आउनै लाग्दा फेरि फोन आयो । १० मिनेटपछि उसले फेरि फोन गरी, मैले उठाएँ । हेल्लो पनि भन्न पाएको थिइनँ, उसको आवाज सुनियो, ‘सुशीलदा बित्नुभो ।’ ।

त्यसपछि दुई–चार ठाउँमा फोन गरेँ, कहीँ उठ्दै उठेन, कहीँ सम्पर्क हुन सकेन । एउटा चिनजानकै भाइले फोन उठायो र भन्यो– के भयो दाइ ? त्यसवेलासम्म कति बजेको छ पनि मलाई थाहा थिएन । सुशीलदा बित्नुभएछ भनेँ । उसले म आउँछु नि दाइ भन्यो । उज्यालो भएपछि आउन भनेँ । बुढिया पनि सुतेकी थिइन्, तत्काल डिस्टर्ब नगरौँ, उज्यालो भइसकेको छ, १५–२० मिनेटमा उठिहाल्छिन् भनेजस्तो लाग्यो । तर, मैले यस्तो सोच्दै गर्दा बुढी उठेर आइसकेकी थिइन् । मैले भनेँ, ‘सुशीलदा त बित्नुभएछ ।’

बुढीले रातिको समय छ, के गर्ने भनिन् । तर, बुढीलाई हप्काएँ । ‘के भन्छ्यौ तिमी, बिहानको पाँच बजिसकेको छ,’ भनेँ । उनले घडीतिर इसारा गरिन्, हेर्दा भर्खर एक बजेको रहेछ । आखिर पहिलेको अलार्म नभई फोन आएको पछि मात्र थाहा भयो । भतिजीले गरेको फोन पनि कुन सुरमा उठाएँ भन्ने थाहा भएन । मध्यरात होइन, बिहानको अलार्म हो भन्ने नै लागिरहेको थियो । एकपटक बजेपछि तीन–चार मिनेटमा पुन: अलार्म बज्ने गरी मिलाइएकाले पछि पनि अलार्म भन्ने लागेको थियो । तर, होइन रहेछ, फोन नै आएको रहेछ भर्खर मध्यरात, यस्तोमा सुशीलदा बितेको सपनाजस्तो लाग्यो, तर यथार्थ नै रहेछ । परिवारका अभिभावक सुशीलदा बितेको खबरले सुत्ने–निदाउने कुरै भएन । त्यसपछि बिहान काठमाडौं आउने तयारी गरियो । बिहान साढे १० बजेको फ्लाइटमा नेपालगन्जबाट काठमाडौं आयौँ । एयरपोर्टबाट सोझै पार्टी कार्यालय सानेपामा गयौँ ।

छातीको इन्फेक्सनले लग्यो
उहाँले क्यान्सरलाई जितिसक्नुभएको थियो । तर, छातीको इन्फेक्सनले उहाँलाई लग्यो । उहाँलाई चिसोले पहिलेदेखि नै सताउँथ्यो । अन्तिमपटक अमेरिका जाँदा पनि घुम्ने सिलसिलामा धेरै चिसो हुने राज्यमा पुग्नुभएछ, तर त्यो सहन नसकेर तुरुन्तै त्यहाँबाट फर्किनुभयो । न्युयोर्कबाट घुम्न गएको त्यो सिटीमा बस्नै नसकेर उहाँ फर्किनुभएको थियो । लगत्तै नेपाल फर्किनुभयो । मलाई पनि भन्नुभएको थियो– अमेरिकामा निकै चिसो भएको थियो । त्यो चिसोले अप्ठ्यारो भएको छ भन्नुभएको थियो । ठण्डीले छातीमा खराब गर्छ । त्यो खराबी बढ्दै गयो, बहाना त्यही भयो र सुशीलदा हामीबीच रहनुभएन । क्यान्सर भएको मान्छे, ‘इम्युनिटी पावर’ त्यत्तिकै कम हुन्छ, त्यसमाथि बुढ्यौली अनि छातीमा खराबी, यी सबै ।

बाथरुममा लड्नुभएको भन्ने सुनेँ
सुशीलदा बितिसक्नुभयो । तर, हल्ला चल्न छाडेनन् । कतिसम्म सुनियो भने– फलानोले मार्‍यो । दुई गुट थिए, गुटगत समस्याले यस्तो भयो पनि भनेको सुनियो । यी सबै हल्ला ‘नन्सेन्स’ हुन् । बाथरुममा लड्नुभएको थियो रे । मैले पनि सुनेँ, काठमाडौं आएपछि सुनेँ । काठमाडौंमा व्यापक हल्ला भइसकेको रहेछ । लड्नुभयो होला र त भन्या होलान् नि । बुढ्यौलीमा बाथरुममा लड्ने ‘सिम्पल’ कुरा हो । चिप्लिएर मात्र नभई कमजोरी भएर पनि लड्न सकिन्छ । म आफैँ पनि लड्छु । लड्ने भन्ने कुनै ठूलो कुरा होइन । उमेर धेरै भइसकेको, कमजोरीजस्ता कारणले लड्नुभयो होला ।
टाउकोमा टुटुल्को उठेको छ भन्ने पनि सुनेको थिएँ । लडेको वेला कहीँ काटेको पनि होला । लडेपछि चोट लाग्न सक्छ । बाथरुममा लडेर मानिसहरूको खुट्टा फ्याक्चर भएको पनि सुनिएको छ । तर, सामान्य घटनाले नै उहाँ बित्नुभयो । उहाँलाई खोकी पनि धेरै थियो । १५–२० दिनअघि फोनमा कुरा गर्दा पनि खोकी असाध्यै सुनेपछि ‘दाजु रखदिए आपको परेसानी हो रहिहे’ भनेर म आफैँ फोन राखिदिन्थेँ । उहाँलाई खोकीले कसिरहँदा म आफैँलाई उहाँसँग कुरा गर्ने हिम्मत नै हुँदैनथ्यो ।

बाँके जाँदा
बाँके जाँदा मैकहाँ बस्नुहुन्थ्यो, खानुहुन्थ्यो । उहाँका लागि घरको माथिल्लो तलामा छुट्टै ‘एट्याच बाथरुम’सहितको कोठा व्यवस्था गरेको थिएँ । तर, उहाँ असाध्यै साधारण मान्छे । कोठामा एउटा खाट, दराज र पार्टीका पुराना कागजात मात्र छन् ।
लड्ने भन्ने माइनर हो । लडेर हातखुट्टा नभाँचिदासम्म, रगत नबगेसम्म अवस्था माइनर नै हो । म आफैँ पनि टुलमा बस्दा लडेर हातमा घाउ लागेको छ । यस्तो हुन्छ, छाती कमजोर हुँदा, कुनै वेला अक्सिजन नपुग्दा दिमागले काम गर्दैन, कमजोरी हुन्छ र सनन्न भएर लड्न सकिन्छ ।

यी हुन् चन्दन लगाउने
लडेर घाउ लाग्यो र घाउ लागेको ठाउँ निधारमा चन्दन दलेको हल्ला पनि चल्यो । चन्दन उहाँ सधैँ लगाउनुहुन्थ्यो । तर, यसलाई ‘इलाबोरेट’ गरेर जे भनिदिए पनि भयो, जे गरिदिए पनि भयो । चन्दन लगाउन रोज (दिनहुँ) एउटा भाइ महाराजगन्ज आउँछ । अरुण पौडेल नामका ती भाइ सुशीलदा बितेको दिन पनि आयो । उसले घटना थाहा पाइसकेको थियो । अघिपछि साधारण टीका मात्र लगाउने गरिएको थियो । तर, मृत्यु भइसकेकाले त्यो भाइले अघिपछिभन्दा अलि बढी चन्दन निधारमा लगाइदियो । पछि मैले पनि निधारमा रातो देखेको थिएँ, तर त्यो रातो के हो ? भगवान् जाने । चन्दनको तल अबिर टाँसिएर रातो भएको पनि हुन सक्छ । तर, यसलाई फरक तरिकामा पनि व्याख्या गरियो । अपव्याख्या भयो । यस्ता नचाहिने हल्ला किन भए, मलाई थाहा छैन । तर, यस्ता हल्ला नभएकै राम्रो हो ।

हस्पिटल नलगेकाले ‘डाउट’
तैपनि, मलाई एउटै ‘डाउट’ लागेको कुरा हो कि हस्पिटल लग्नुपथ्र्यो, हस्पिटल लगेको भए प्रोपोगान्डा हुँदैनथ्यो । डा. पनि हुनुहुन्थ्यो, उहाँले स्टेटमेन्टमा बेड पनि बुक गराएको समाचारमा आएका छन् । एम्बुलेन्स खोज्दाखोज्दै उहाँ खुस्किनुभयो, यो कस्तो एम्बुलेन्स खोजाइ हो ? अन्तिम ‘आवर’मा यही घर (महाराजगन्ज)मा नै गाडी थियो, बोकेर गाडीमा राखेर लान सकिन्थ्यो । तर, मलाई लाग्छ, लास्ट आवरमा लिएर जाऔँ भन्ने विचार गरेजस्तो छ । जुन वेला मलाई फोन आएको थियो, त्यतिखेर लान खोजेकोजस्तो देखिन्छ । मलाई छोरीले फोन गर्दा हस्पिटल लिएर जाओ भनेको थिएँ । तर, लास्ट आवर भइसकेको थियो सायद । दाजु सिरियस भएको म्यासेज आएको १० देखि १५ मिनेटमा उहाँ बित्नुभयो । अस्पताल लगेको मात्र भए पनि अहिलेका विवादास्पद कुरा बाहिर आउने थिएनन् । एउटा मात्र गल्ती भएको हो, अस्पताल लिएर जानुपथ्र्यो ।

नेपालगन्जको अन्तिम भेट सामान्य
सुशील दा अरुण दाइको वार्षिकीमा बाँके जानुभएको थियो । तर, त्यही दिन फर्किनुभयो । उहाँ नेपालगन्ज पुगेपिच्छे नेता–कार्यकर्ताको घेरामा जानुहुन्छ । अरुण दाइको वार्षिकीमा पनि उहाँ यसरी नै नेता–कार्यकर्ताका घेरामा पर्नुभएको थियो । बाँके पश्चिमको राजनीतिक केन्द्र भएकाले भेटघाट पनि उत्तिकै हुने भए, अधिवेशन आएपछि । सबै लडे भने हामी किन अधिवेशनमा लड्न नहुनेजस्ता जिज्ञासा नेता–कार्यकर्ताले त्यतिखेर राखेका थिए । हामी सुशीलदा भन्थ्यौँ, उहाँ विजय भन्नुहुन्थ्यो ।
चार–पाँच दिन त्यहाँ रहँदा हामीले नै भेट्न पाउँदैनथ्यौँ । खाना खान टेबलमा बस्दा पनि नेता–कार्यकर्ताको घेरामा उहाँ पर्नुहुन्थ्यो । उहाँको सरलताले नै यो सम्भव हुन्थ्यो । त्यतिखेर मसँग खास कुरा भएन, सामान्य दर्शनभेट मात्र भयो । सबैलाई माया गर्नुहुन्थ्यो, सम्झाउनुहुन्थ्यो । तर, अहिले दु:ख लागेको छ, सुशीलदा रहनुभएन ।

(नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले तयार पारेको खोज सामाग्री समाचार साभार )

प्रतिक्रिया