सेती नदीमा पक्की पुल निर्माण

इनेप्लिज २०७२ माघ २६ गते ३:३२ मा प्रकाशित

तनहुँ, २६ माघ । तनहुँ हाइड्रोपावर लिमिटेडको आयोजनामा सेतीनदीमाथि रु ११ करोडको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

व्यासनगरपालिका वडा नं ७ पाटन र काहुँशिवपुर गाविसको वडा नं १ स्थित झापुटार जोड्ने पक्की पुल निर्माण भएको हो ।

उक्त पुलको निर्माण गर्ने जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन नेपाली कम्पनीले आव ०७०÷७१ मा निर्माण कार्य थालेको र आव ०७२/७३ मा लक्ष्यअनुरुप निर्माण कार्य सम्पन्न भएको तनहुँ हाइडोपावर लिमिटेडका सहनिर्देशक लोकप्रसाद नेपालले बताउनुभयो ।

सदरमुकाम दमौली नजिक पक्की पुल नहुँदा बढ्दो सहरीकरण र बस्ती विस्तारले मानिसको आवतजावतमा निकै गाह्रो हुने गरेकामा पुल निर्माणपछि सहज भएको उहाँले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा पक्की पुल निर्माणपछि यातायातका सवारी साधन गुड्दा जिल्लाको दक्षिण भेगमा पर्ने काँहुशिवपुर, भिरकोट, भानुमति, राम्जाकोट, रानीपोखरी, कोटदरबार, भीमाद गाविसलगायतका मानिस प्रत्यक्ष लाभान्वित हुनुका साथै छिमेकी जिल्ला स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाविसका मानिस पनि लाभान्वित हुने बताइएको छ ।

मादीसेती नदीमा एकमात्र झोलुङ्गे पुल रहेको र पक्की पुल नहुँदा सर्वसाधारण दमौलीबाट भीमाद बजार हुँदै घुमेर जिल्लाको विभिन्न गाविसमा आवतजावत गर्नुपर्ने बाध्यता हटेको सहनिर्देशक नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया