भक्तपुर, २३ माघ । भक्तपुरको नगरकोट नगरपालिकास्थित मुहान पोखरीबाट काभ्रेको खावा जोड्ने करिब १० किलोमिटर लामो सडक निर्माण सुरु भएको छ ।
पुनःनिर्माण तथा पुनःस्थापना क्षेत्रगत विकास कार्यक्रमले जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालयको संयोजनमा नयाँ सडक निर्माण सुरु गरेको हो ।
नगरकोटको मुहान पोखरीबाट बागेश्वरी, सुडाल, ताथली, नालाछाप हुँदै खावा जोड्ने उक्त सडक २०७४ असार २० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाएर निर्माण सुरु भएको स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले जानकारी दिनुभयो ।
कुल रु १३ करोड तीन लाख ४६ हजार ४४० को लागतमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएअनुसार सडक निर्माण सुरु भएको हो ।
सडकको चौडाइ ५.५ मिटर रहने, सडकको क्षेत्राअधिकार सेन्टरबाट दायाँबायाँ १०˗१० मिटर रहने, कालोपत्र ३.७५ मिटर रहने जिल्ला प्राविधिक कार्यालयका प्रमख माधवजङ्ग कार्कीले जानकारी दिनुभयो ।
सडक निर्माणमा पक्की नाली निर्माण गरिने, टेवा पर्खाल लगाइने, १८ वटा पाइप कल्भर्ट, छ वटा स्ल्याब कल्भर्ट राख्ने कार्य सम्पन्न भएपछि सडक हस्तान्तरण गर्ने बताइएको छ ।
ग्रामीण भेगको यो सडक निर्माण सम्पन्न भएपछि काभ्रेको खावाबाट भक्तपुर सिधा आवतजावतमा सहज हुने र यहाँका उत्पादनलाई बजार ल्याउन निकै सहज हुने स्थानीय समन्वयकर्ता यादव अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया