मैले बिदेसी भुमिमा नेपाली पुस्तक किन बेचे

इनेप्लिज २०७२ माघ २२ गते २३:०७ मा प्रकाशित

unnamed

परिवार र मातृभूमी त्यागी परदेशिनु मेरो चाहनाको कुनै पत्रमा रहरले कोरिएका थिएनन् । तर, जिन्दगीलाइ जिन्दगी जस्तो बनाउन र थपिंदै गएका जिम्मेवारी, कर्तव्य निभाउन मैले यो बाटो रोजे । र, मेरो गन्तव्य बन्यो मध्यपूर्वमा अवस्थित देश इज़रायल ।

अहिले म यो जान्न खोजिरहेको छैन कि राज्यले म जस्ता सामान्य नागरिकलाई के कस्ता आधारभूत आबस्यकताहरु पूर्ण गर्छ तर राष्ट्र प्रति जिम्मेवार बन्न एक हौसला र प्रेरणा साथ् साथै एक ठोस्/विश्वसनीय कार्य नीतिसम्म नहुँदा हजारौं युवा शक्ति बिदेश पलायन हुनु देशकै निम्ति हानि पक्कै हो ।

बिगत् १० साल देखि म यस यहुदी बस्तीमा म सुन्दर भविष्य बनाउन घोटीइ रहेछु र म जस्ता यहाँ हजारौं नेपाली दाजुभाई तथा दिदीबहिनीहरु छन् । मलाइ राम्रोसँग स्मरण छ त्यस दिनको, जुन दिन म एक घरेलु कामदारको रुपमा इज़रायल आउन नेपालको एक मात्र अन्तराष्ट्रिय विमान स्थल त्रिभुवन विमानस्थल पुगे र उड्दा परिवार र मातृभूमी छोड्नुको अमिलो अनुभूति , गह्रुङ्गो मन र साथै मिठो सुन्दर भविष्यको परिकल्पना गर्दै हवाईजहाजको सिटमा बस्दा अनायास्सै आँखाहरु रसाएका थिए । इमान्दारी पुर्वक भन्नु पर्दा मलाइ हवाईजहाजमा सिट बेल्ट बान्न सम्म आउदैनथ्यो । जीवनको पहिलो अनुभव सिक्दै र बटुल्दै गएँ । करिव २०० सय जना जति यात्रारत उक्त जेट उडानमा सायद म

नै एकजना पहिलो पटक चड्ने हुनुपर्छ । हवाईजहाजमा प्रथम खाने भोजन सिक्दै (अरुलाई हेर्दै) गरेको थिएँ ।यहुदी देशमा कदम राखे देखि निरन्तर आजको दिन सम्म उहीं काम/कर्मको सिलसिला चलिरहेकोछ । यी तपसिलका कुराहरु समय सँगै रुप्/रङ्ग फेर्दै नयाँ नयाँ साथीभाई/मित्रजन सँग परिचित गराउंदै गयो । देश र परिवार सँगको न्यास्र्हो खल्लोपन अब बिस्तारै नयाँ कर्तव्यले थिच्दै थियो । मन/मुटुभरी न्यानो, मिठो सम्झनाहरु त छदै थिए ।

मेरो जागिर लिभ आउट (बिहान गएर बेलुकी आफ्नै अपार्टमेन्ट फर्कने) परेकोले नेपाल बाट आएका प्राय अधिकांस नेपाली दाजुभाई, दिदीबहिनीहरु सँग छुट्टीको दिन दुख/सुख कुरा गर्न पाउथें । रमाइलो, खल्लो आफ्नै ठाउँमा थिए स्वदेशको त्रिसना हरेक नेपाली पर्व मनाएर सदभाव बाडिन्थ्यो एक अर्कामा । यस्तैमा केहि सक्रिय साथीभाईहरु सँग मिलेर साहित्यिक सँस्था ”अनेसास इजरायल चाप्टर” गठन गरियो । उक्त साहित्यिक संस्थाको उपाध्यक्ष पदमा रही कार्य सम्पादन गर्ने अवसर मैले पाएको थिएँ र केन्द्रीय सदस्यमा आबद्ध भै समय समयमा अन्तक्रिया गर्न पाउँदा निकै रमाइलो अनुभूत गरें । यसैबीच हामीले पत्रिका निकाल्ने जमर्को गर्यौं ”मेरो नेपाल” दैमासिक पत्रिका । प्रवासमा नेपाली अक्षरमा प्रकाशित पत्रिका देख्दा आफैंलाई गर्व महसुस हुन्थियो निकै चल्यो पनि । धेरैले दिएका सकारात्मक प्रतिक्रियाले अझ काम गर्ने हौसला दिएको थियो । तर यो पत्रिका १६ महिनासम्म मात्र संचालन गर्न सफल भयौं विभिन्न कारणवस् निरन्तरता दिने असमर्थ भयौं । अपबातलाई छोडेर भन्नुपर्दा नेपाली जहाँ पुगे पनि पदको मातले भने नछोडेको स्पष्ट महसुस गरें मैले । चाहे त्यो आधिकारी रुपमा नचलाइएको नै किन नहोस् । दैमासिक पत्रिकामा जति गरियो त्यस बाट धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

त्यसको केहि समय पछि मैले सस्था छोडे अनि -केहि समय चुपचाप बसें । तर भित्रि मनले केहि गर्नुपर्छ भनि घच्घच्याइरहेको थियो तर केही थाहा थिएन । यस्तैमा एक दिन पुस्तकको चर्चा भएको देखे (समाचारमा)। पुस्तक रबिन्द्र मिश्र जी को थियो ”खान पुगोस दिन पुगोस् ” । ढुँगा खोज्दा देउता मिले झैं भयो मलाइ । म के गर्ने भन्ने सोचमा थिएँ , लक्ष्यमा सूर्योदय भए झैं लाग्यो । खुशी हुँदै यहीं (खान पुगोस् दिन पुगोस्) पुस्तक किन्ने मनसाय बनाए तर कसरी ? यस पाटोमा म बिल्कुल अनविज्ञ थिए । भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । हो उपाय निकाले कुरो २०११ तिरको हुनुपर्छ । केहि गर्ने इच्छाहरु सल्बलाई रहेका थिए रबिन्द्र मिश्र जी सँग सम्पर्क गरि सबै कुरा डिटेलमा बुझे र १०० प्रति पुस्तक आफैले खरिद गरेर खोटांगका केही विद्यालय र तराईमा आफु बसेको ठाउँका स्कुल लाइ दिए यो नितान्त मेरो सानो प्रयास थियो|

त्यो क्षण जीवनमा सबै भन्दा शुखद क्षण थियो मेरो निम्ति । यो मेरो पहिलो परोपकारी कार्य थियो ।मलाई लाग्यो इजरायलमा पनि अब पुस्तक मगाएर सानै किन नहोस हेल्प गर्छु भन्ने आट आयो –त्यस पश्चात् निरन्तर पुस्तकहरु मगाएर साथी भाइलाइ बिक्रि गर्ने कार्य गरिरको छु सायद ५ साल जति भयो होला । यसरी पुस्तक बिक्रि बाट पनि यति ठुलो परोपकारी कार्य गर्न सकिँदो रहेछ । मैले सोचेको पनि थिइन तर गरे हुनेरहेछ । पुस्तक बिक्रि बापत आउने एकएक पैसा परोपकरिमा लगाउँदा म आफु पनि एउटा माध्यम भएको महसुस गर्छु अनि खुशी लाग्छ फर्केर हेर्दा ।

बोले जस्तै सहज कहाँ थियो र यो कार्य गर्न ! नेपाल बाट पुस्तक यहाँ सम्म ल्याउन अनि प्रचार-प्रसार गर्नु, छुट्टीमा तेल अभिव पार्कमा बसेर बेच्थें कसैले लिन आउनु हुन्थियो त कसैले मगाउँने गर्नु हुन्थियो । इजरेलीहरु पनि चासो मानेर सोध्थे र बुझे पछी स्याबासी दिन्थे, खुशी लाग्थ्यो । यसरी कार्य गर्दा बिचमा आइपरेका कैयौं अप्ठ्याराहरुलाई आफैमा समेटी ,,परोपकारी पवित्र कार्यमा जोडीइ रहन पाउँदा मिलेको असीम आनन्द कुनैपनि वस्तु सँग तुलना दाँज्न सक्दिन । सुरुवाती समयमा निकै गाह्रो भएको थियो तर काम गर्दै जादाँ बिस्तारै सजिलो हुँदै आएको छ । तर अहिले इन्टरनेटले गर्दा भने पुस्तक बिक्रीमा पनि असजिलो भएको कुरा हामी सबैमा सर्व बिधितै छ । किनकी इन्टरनेटमै सबै प्रकारका सुबिधा उपलब्ध भएको हुँदा मान्छे पुस्तक किन्न गाह्रो मान्छन |

किन पुस्तक बेचे मैले बिदेसी भूमिमा यस लाइ यसरि केलाउदा उपयुक्त होला…
नेपाली भाषालाइ विश्व बजार सम्म पुग्ने र पुस्तक किनेर पढ्ने बानिको विकास हुनेपुस्तक किन्ने मान्छे आफु पढ्ने अनि त्यो प्रति सुरक्षित् रहने बौद्धिक विकास हुने , ज्ञान र बुद्धीको विकास हुने पुस्तक किन्ने मान्छेलाइ सहयोग गरे जस्तो पनि हुने अनि आफु पनि पुस्तक पढ्न पाइने बिदेसी भुमिमा एक्लो महसुस नि नहुने यस्तै यस्तै- यसरी पुस्तकलाइ बारम्बार परोपकरी मा जोड्दा लेखक को पनि प्रचारप्रसार हुने र त्यस बाट आएको रकम सिधै दुखि, असहाय,गरिब र शिक्षाको लागि भिबिन्न संघ सँस्था मार्फत सिधै सहयोग जाने हुदाँ आज सम्म १०/१२ वटा सस्थाले सानै भए पनि सहयोग पाएका छन ।

आज सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पाउनेहरु
❖ ”पबित्र सेवा समाज नेपाल
❖ आशा सोनी पर्बत-
❖ किर्तिपुर सफलता शिक्षा सदन स्कुल HIV सँस्था
❖ हार्ट बिज
❖ राइजिग चिल्ड्रेन लोटस भिलेज किर्तिपुर
❖ सित लहर पिडित
❖ बाढी पीडित
❖ आगलागी पिडित
❖ तुलसीपुरका एक जना आखा नदेख्ने बा
❖ बिबेकसिल नेपाली
❖ जन्म दिन शैक्षिक कोष
❖ कोसिस अभियान
❖ हेल्प नेपाल नेटवर्क
र अरु धेरै ठाउँ मा सानै भए पनि सहयोग गर्न पाउदा मनमा आनन्द प्राप्त भएको छ । यो काम नगरी म यत्तिकै चुपचाप पनि बस्न सक्थें तर गरिरहेछु र सकिन्जेल गरिरहनेछु ।जसबाट अरुलाई प्रेरणा र परोपकारीमा यसरी पनि पवित्र कार्य गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पनि दिन पाउँदा खुशी छु । यसरी निश्वार्थ भावनाले जति पनि गरे मैले नामको लागि गरिन न त कसैको लहै लहैमा लागेर नै गरेको हुँ यो त स्वत स्फुर्त स्वविवेकले गरे, अहिले पछिल्लो ५ बर्ष लाइ फर्केर हेर्दा खुशी लाग्छ गर्व अनुभूत हुन्छ ।

जीवनमा सबै भन्दा ठुलो आनन्द जब अरुको लागि सोचिन्छ गरिन्छ त्यो नै ठुलो हो lअरुको लागी सानै हो सानै हुन सक्छ मैले गरेको यो पुस्तक प्रतिको मोह सायद नयाँ त हुदै होइन होला तर मेरो लागि भने नयाँ र बिल्कुलै अप्ठ्यारो छ तर मेरो प्रयास जारी छ । यो अभियानमा मलाई सबैको साथ रहेर नै यो सम्भंब भएको हो । यसमा साथ् तथा सहयोग गर्नुहुने सबै लाई अन्तर्मनबाट नमन गर्दछु ।

इजरायलको यो भुमिमा तपाई सबैले पुस्तक पढ्नु अनि नेपाली साहित्यलाई माया गर्नु भएको छ साथै तपाईहरुले किनेको पुस्तक बाट आएको एक एक पैसा गरिब बालबालीका, बृद्ध, बृद्धा तथा अनाथहरुले सहयोग पाएका छन् त्यो नै ठुलो कुरा हो । पुस्तक किनेर पढ़नुहुने तपाई सबैको जय होस पुन आभार व्यक्त गर्दछु ।

केही पुस्तकहरुमैले देखेको नेपाल =हर्क गुरुङ, माइक्रोसफ्ट देखि बाहुनडाडा सम्म =जोन उड खान पुगोस दिन पुगोस =भूमध्य रेखा -रबिन्द्र मिश्रका कविता =रबिन्द्र मिश्र, चिना हराएको मान्छे हरिवंश आचार्य, सोच –खोज -मोज =म सक्छु –ALL THE BEST = कर्ण शाक्य सेतो धर्ती =करोडौं कस्तुरी =अमर न्यापाने प्रयोगशाला =सुधिर शर्मा, कर्णाली ब्लुज =बुद्धि सागर, चक्र व्युह मा चन्द्र सुर्य =सरोज राज अधिकारी, अन्तर्मनको यात्रा -सकस =साबिती =जगदिस घिमिरे,जीवन काडा कि फूल =झमक घिमिरे,पल्पसा क्याफे =नारायण वाग्ले, ‘खुशी” —बिजय कुमार पाण्डे

र अन्य धेरै लगभग ८०० प्रति भन्दा बढी सबैको जय होस् हो जसले जहाँ बाट जे सकिन्छ त्यही गर्नु पर्छ मैले त्यही गरेको ठुलो केही गरेको हैन- धेरै हुनेले अलिक धेरै र थोरै हुनेले जति सकिन्छ त्यतिनै गर्ने हो तर गर्न चाहिं गरौँ ।

प्रतिक्रिया