प्रेस चौतारीद्वारा पुरस्कार घोषणा

इनेप्लिज २०७२ माघ २२ गते १२:१३ मा प्रकाशित

काठमाडौँ, २२ माघ । प्रेस चौतारी नेपालले हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई प्रदान गर्ने भएको छ ।

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार चौतारीका केन्द्रीय पूर्वउपाध्यक्ष तथा मकवानपुरका पत्रकार देवराज रिमाललाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार सिरहाका दिलीपकुमार सिंहलाई तथा डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका यज्ञराज थापा र अछामका विद्युतमा आउजीलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा तीर्थ कोइराला, अग्निशिखा पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा गोविन्द पोखरेल, वीरेन्द्र पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा लक्ष्मी साह र डेकेन्द्र पत्रकारिता पुरस्कार सिफारिस समितिका संयोजकमा अक्षरी पोखरेल रहनुभएको थियो ।

पहिलो जनपक्षीय साहित्यिक पत्रकार प्रधान, अन्तर्राष्ट्रिय विषयमा कलम चलाउने पत्रकार तथा साहित्यकार अग्निशिखा, तत्कालीन नेकपा(माओवादी)बाट मारिनुभएका चौतारीका केन्द्रीय सदस्य साह र थापा बारा र दैलेखमा क्रियाशील हुनुहुन्थ्यो ।

प्रत्येक वर्ष स्थापना दिवसका दिन घोषणा गरिने चौतारीका उत्कृष्ट जिल्ला कार्यसमितिमा सुनसरी, दोलखा, नवलपरासी, बाँके, डडेल्धुरालाई छनोट गरिएको छ । जिल्ला कार्यसमितिको कार्य सम्पादन, क्रियाशीलता र रचनात्मक क्रियाकलापका आधारमा सिफारिस भएअनुसार उत्कृष्ट जिल्ला छनोट गरिएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आगामी मे ३ तारिखका दिन ती पुरस्कामर प्रदान गरिने
छ ।

पोखरा – चौतारी कास्कीले सञ्चालन गरेको यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार दुर्गा भण्डारीलाई आज प्रदान गरिएको छ ।

नेकपा (एमाले) निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले रु ११ हजार १११ राशिको सो पुरस्कारबाट भण्डारीलाई सम्मान गर्दै प्रगतिशील पत्रकारको रचनात्मक दबाबले नै एमाले सही तरिकाले अघि बढ्न सकेको बताउनुभयो । उहाँले सत्य र तथ्य समाचार सम्प्रेषण गरी समाजलाई सही बाटामा डोर्‍याउन पनि पत्रकारको अहम् भूमिका रहने धारणा राख्नुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले चौतारीमा आबद्ध पत्रकारलाई सङ्गठित र मर्यादित भएर अगाडि बढ्न सल्लाह दिनुभयो ।

बिरामीलाई फलफूल

तनहुँ– चौतारी नेपाल तनहुँले चौतारीको १८ औँ स्थापना दिवसका अवसरमा आज दमौली अस्पतालमा रहेका करिब १५ बिरामीलाई फलफूल वितरण गरेको हो ।
डडेल्धुरा – चौतारी डडेल्धुराले पनि आफ्नो स्थापना दिवसका उपलक्ष्यमा बिरामीलाई फलफूल वितरण गरेको छ । आज बिहानै एक कार्यक्रमको आयोजना गरी चौतारीले उपक्षेत्रीय अस्पताल डडेल्धुराको बिरामी कक्षका पैँतिस जनालाई फलफूल वितरण गरेको हो ।

प्रतिक्रिया