६ करोड ६० लाखमा पुल निर्माण

इनेप्लिज २०७२ माघ २१ गते ११:१७ मा प्रकाशित

पथरी (मोरङ), २१ माघ । मोरङको रु ६ करोड ६० लाख ९३ हजारको लागतमा विराटनगर नगरपालिकाको वडा नम्बर १ र २ को सिमानामा सिंघिया खोलाको धनावतघाटमा पुल निर्माण भइरहेको छ ।

जिविस मोरङका अनुसार कटहरी, महेशपुर र बैजनाथपुरका चार दर्जनभन्दा बढी वडालाई सुविधा हुनेगरी धनावतघाटमा सिंघिया खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७० साल भदौ महिनादेखि काठमाडौँ रातोपुलस्थित गीताञ्जलि रौताहा माङसुवा जेवीले निर्माणको ठेक्का लिएर निर्माण कार्य सुरु गरेको थियो । २०७१ साल चैतमा कार्य सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता रहेपनि विभिन्न कारणले गर्दा ढिलो काम सुरु भएको ठेकेदार पक्षका इञ्चार्ज कुमार खत्रीले जानकारी दिनुभयो ।

सो पुल अब आगामी असारको पहिलो सातासम्म काम सम्पन्न गर्ने उद्देश्यसहित निर्माण भइरहेको छ । जिविस मोरङका प्रमुख इन्जिनियर समरबहादुर खनालका अनुसार पुलको लम्बाइ ६५ मिटर छ । इन्जिनियर खनालका अनुसार समयमै ठेक्का रकम विनियोजन गर्न नसकिएका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माण सम्पन्न भएपछि कटहरी गाविसको महेशपुर र झापाको बैजनाथपुरलगायत चार दर्जन गाविसका सर्वसाधारणका लागि पनि आवत–आवतमा सजिलो हुने स्थानीय बलराम राजवंशीले बताउनुभयो ।

प्रतिक्रिया