वीरगन्ज नाका खुल्ने सद्भावना अध्यक्ष महतोद्वारा सङ्केत

इनेप्लिज २०७२ माघ २१ गते ११:१६ मा प्रकाशित

rajendra mahatoविराटनगर, २१ माघ । संयुक्त मधेसी मोर्चासँग आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका खुल्ने सङ्केत गर्नुभएको छ ।

भारतीय नेतासँग भेटघाट गरी पटनाबाट बुधबार साँझ विराटनगर फर्कनुभएका उहाँले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा वीरगन्ज नाका अबरुद्ध पारेर सरकारलाई कुनै असर नपरेको बरु कालोबजारी व्यापकरुपमा मौलाएको र जनतालाई सास्ती भएको बताउनुभयो ।

भारतसँगको सबै नाका बन्द गर्नुपर्ने वा वीरगन्ज नाका पनि खोल्नुपर्ने सम्बन्धमा दुई दिनभित्र काठमाडौँमा हुने मोर्चाको बैठकमा छलफल गर्ने जानकारी उहाँले दिनुभयो । विहारको पटनामा राष्ट्रिय जनता दलका नेता एवम् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव, भारतीय जनता पार्टीका नेता एवम् विहारका पूर्वउपमुख्यमन्त्री सुशील मोदी लगायतका नेतासँग भएको आफूहरुको भेटघाट सकारात्मक रहेको उहाँले बताउनुभयो ।

मधेस आन्दोलनमा नैतिक समर्थन दिने र भारतका केन्द्रीय सरकारमार्फत नेपाल सरकारलाई मधेसी जनताको हकहितका लागि दबाब दिन लगाउने आश्वासनसमेत ती नेताबाट पाएको उहाँको भनाइ थियो ।

उहाँले विगतमा भएका सम्झौता र अन्तरिम संविधानबाट प्राप्त अधिकारबाट समेत वञ्चित गरिएको सम्बन्धमा भारतीय नेताहरुलाई आफूहरुले जानकारी गराएको बताउनुभयो ।

संविधान संशोधन आफूखुसी गरिएको उल्लेख गर्दै अध्यक्ष महतोले मेचीदेखि महाकालीसम्म मधेसमा दुई प्रदेश अनिवार्यरुपमा हुनुपर्ने र यसभित्र केही गाउँ मिलाउन सकिने धारणा प्रकट गर्नुभयो । आन्दोलनलाई अझ सशक्त बनाउन आन्दोलनमा सक्रिय रहेका मधेसका दुइटै मोर्चा र थारूको मोर्चासमेत गरी महागठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु भएको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले अधिकार प्राप्तिका लागि सरकारसँग गरिने अन्तिम लडाइँका लागि शक्ति सञ्चय गर्न पनि आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव जनताबाट आइरहेको बताउनुभयो ।

प्रतिक्रिया