जिल्लास्तरीय नेता नै पराजित

इनेप्लिज २०७२ माघ १८ गते ६:१४ मा प्रकाशित

तनहुँ, १८ माघ । नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेता क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।

जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिकामा आउन सक्ने नेतालाई गाउँका क्रियाशील सदस्यले गाउँमै हराइदिएका हुन् । पूर्वसभासद् उर्मिला थापालाई घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित गराइदिएका छन् ।

त्यस्तै जिल्ला प्रवक्ता हरि वाग्ले शुक्लागण्डकी नगरपालिका–२ बाट पराजित भएका छन् । उनले दुई मत मात्र ल्याएका छन् । रेडक्रस तनहुँका पूर्वसभापति परशुराम गिरी राम्जाकोटबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।

त्यस्तै जिल्ला पूर्व सदस्य परमेश्वर भट्टराई पनि केशवटारबाट पराजित भएका छन् । पराजितमध्ये थापा, गिरी र भट्टराई पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट मानिन्छन् ।

क्षेत्रीय अधिवशेनमै पराजित भएपछि ती नेताहरुले जिल्ला कार्यसमिति, महाधिवेशन
प्रतिनिधि र महासमिति सदस्य पदमा निर्वाचन लड्न नपाउने भएका छन् । काँग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते तोकिएको छ ।

काँग्रेसको नगर समितितर्फ व्यास नगरमा शान्तिरमण वाग्ले सर्वसम्मत भएका छन्
भने शुक्लागण्डकीमा माधव भट्टराई, भानुमा श्रीभक्त आचार्य, बन्दीपुरमा कर्णबहादुर खड्का र आबुँखैरेनी नगरपालिकामा गिरबहादुर थापा निर्वाचित हुनुभएको छ ।

सबै गाविसमा अधिवेशन सम्पन्न भए पनि निर्वाचन परिणाम जिल्ला कार्यालयमा प्राप्त भई नसकेको निर्वाचन समितिका सदस्य केशव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया