काङ्ग्रेसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत चयन

इनेप्लिज २०७२ माघ १८ गते ६:०९ मा प्रकाशित

मुगु, १८ माघ । नेपाली काङ्ग्रेसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् ।

नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापतिमा निर्वाचित भएका छन् भने जिल्लाभरिमा रोवा गाविसमा मात्र एक महिला सभापति ३९ वर्षीया नानी बुढा सर्वसम्मत चयन भएकी छन् ।

उमेर समूहका आधारमा हेर्दा २५–३० वर्षभित्रका तीनजना ३०–४० वर्षभित्रका चारजना, ४०–५० वर्षभित्रका नौजना, ५०–६० वर्षभित्रका पाँचजना र ६०–७० वर्षभित्रका तीनजना गाउँ सभापति निर्विरोध निर्वाचित भएका छन् भने ११ सदस्यीय गाउँ तथा वडा कार्यसमितिमा प्रायः २५ देखि ४५ वर्षभित्रका पदाधिकारीहरुको बाहुल्यता रहेको छ ।

यस आँकडालाई हेर्दा पनि गाउँ नेतृत्वमा सबै तह युवा, मध्य युवा र ज्येष्ठ नेतृत्वको प्रतिनिधित्व भएको छ । योभन्दा पनि अर्को रोचक कुरा सबै गाविसमा गाउँ, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत अर्थात् निर्विरोध निर्वाचित भएका छन् जबकि देशभरको गाउँस्तरको अधिवेशनमा अधिक ठाउँमा निर्वाचन, झडप, पक्ष विपक्ष बुथ कब्जा र यहाँसम्मकी नेतृत्व आफ्नो गुटमा पार्न खुकुरी हानाहानसम्म भएका घटना बाहिर आएका छन् । तर मुगुमा शान्तिपुर्ण निर्वाचन सम्पन्न भएको सभापति शाहीले बताउनुभयो ।

मुगु जिल्लामा निर्वाचनका लागि खटिएका अधिवक्ता एवम् नेपाली काँग्रेस मुगु जिल्ला मुख्य निर्वाचन अधिकृत दमनराज बम मुगुका चौबीसै गाउँ कार्यसमिति, २१६ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएकामा आफू अचम्मित परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “मुगु जिल्लाले त अन्य ७४ जिल्लालाई पाठ सिकायो । चुनाव नभएका कुनै जिल्ला छैनन् तर मुगुमा सबै नेतृत्व निर्विरोध चयन भए ।
पूर्व शिक्षा राज्यमन्त्री एवम् श्रीनगर गाविसबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हस्तबहादुर मल्ल गाउँस्तरमा जस्तै जिल्ला नेतृत्वका लागि पनि सर्वसम्मत चयनको प्रयास हुने बताउनुहुन्छ ।

प्रतिक्रिया