जिल्लामै शल्यक्रियासहितको सेवा पाएपछि सर्वसाधारणलाई राहत

इनेप्लिज २०७२ माघ १६ गते ४:०४ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १६ माघ । म्याग्दी जिल्ला अस्पतालले विभिन्न रोगको शल्यक्रियासहितको सेवा उपलब्ध गराउन थालेपछि जिल्लावासीलाई राहत मिलेको छ ।

अस्पतालले जटिल प्रसूतिका साथै विभिन्न रोगको शल्यक्रियासहितको सुविधा दिन थालेपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।

विसं २०७१ साउनदेखि शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएको सो अस्पतालमा हालसम्म ५६ जनालाई शल्यक्रिया गरेर प्रसूति सेवा दिइसकेको चिकित्सक धीरेन्द्र मल्लले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य प्रमुख चिकित्सक रोशन न्यौपानेका अनुसार जिल्ला अस्पतालमा यसै महिनादेखि हाइड्रोसिल, हर्निया, एपेन्डीसाइट्सलगायत रोगको समेत शल्यक्रिया सेवा सुरु गरिएको छ ।

अस्पतालले आन्तरिक स्रोत, विभिन्न सङ्घसंस्था, दातृ निकाय, जिल्लावासी र प्रवासीबाट सहयोग जुटाएर उपकरण र सेवा विस्तार गरेको हो ।

यसैबीच जिल्ला अस्पताल म्याग्दीले गुणस्तरीय सेवाप्रवाहमा योगदान गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीलाई मासिकरुपमा सम्मान गर्न थालेको छ ।
राम्रो काम गर्नेलाई प्रोत्साहन र सम्मान गरी उत्प्रेरित गर्न विभिन्न विधामा मासिक पाँच स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गर्न सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

प्रतिक्रिया