पर्वतका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी

इनेप्लिज २०७२ माघ १६ गते ४:०२ मा प्रकाशित

dadura-Khopफलेवास (पर्वत), १६ माघ । जिल्लाका १५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दादुरा रुबेला खोप अभियानअन्तर्गत जिल्लाको एक नगरपालिका र ४७ गाउँ विकास समितिका बालबालिकालाई दादुरा र रुबेला रोग लाग्नबाट बचाउन अभियान थालिएको हो ।

पर्वतमा यही माघ २४ देखि फागुन ३ गतेसम्म पहिलो चरण र फागुन ५ देखि १३ गतेसम्म गरी दुई चरणमा अभियान सञ्चालन गरिने छ । पहिलो चरणमा क्षेत्र नं १ का नगरपालिकासहित ३१ गाविस र दोस्रो चरणमा क्षेत्र नं २ का २४ गाविसमा अभियान सञ्चालन गरिने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा चिकित्सक भवानीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अभियानको क्रममा प्रत्येक वडामा रहने खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत जन्मेदेखि पाँच वर्ष उमेर समूहका १५ हजार ३८१ जना बालबालिकालाई खोप लगाइने उहाँले बताउनुभयो ।

उक्त अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थोपा पनि खुवाइने छ । १२ हजार ६३१ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने र १५ हजार ३८१ जनालाई पोलियो थोपा खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर देवेन्द्र गुरुङले जानकारी दिनुभयो ।

अभियानका लागि जिल्लाभर एक हजार १० जना स्वास्थ्यकर्मी परिचालन गरिने छ । जसमध्ये ५१५ जना महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्थानीय स्वास्थ्यकर्मी, शिक्षक वा स्वयम्सेवकलाई परिचालन गरिने तयारी भएको छ ।

दादुरा रुबेला रोगविरुद्ध थप प्रतिरोधात्मक शक्ति प्रदान गर्नका लागि खोप अनिवार्य लगाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डा सरोज दाहालले जानकारी दिनुभयो ।

अभियानमा परिचालन गरिने स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई आवश्यक तालिमसमेत दिइसकेको कार्यालयले जनाएको छ । प्रत्येक चार चार वर्षमा हुने यस्तो अभियानबाट अहिलेसम्म ८७ प्रतिशत मात्र उपलब्धि हासिल हुन सकेको छ भने १३ प्रतिशत बालबालिका पोलियो र दादुरा, रुबेलाविरुद्धको खोपबाट वञ्चित छन् ।

प्रतिक्रिया