घरमा रङ लगाए कर छुट पाइने

इनेप्लिज २०७२ माघ १६ गते ३:५५ मा प्रकाशित

पथरी (मोरङ), १६ माघ । विराटनगर उपमहानगरपालिकाले तोकेको रङ आफ्नो घरमा लगाउने नगरवासीले घरजग्गा करमा तिर्दा छुट पाउने भएका छन् ।

रङ भोटिङको शुक्रबार उद्घाटन गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले भन्नुभयो, “जसले उपमहानगरपालिकाको छनोटमा परेको रङ घरमा लगाउँछ त्यसले २० देखि ३० प्रतिशत घरजग्गा कर तिर्दा छुट पाउँछ ।”
रङ छनोट समितिले छानेको चार वटा रङलाई फेसबुक तथा वेबसाइटबाट बढी मत ल्याउने रङ नै विराटनगरका लागि उत्कृष्ट रङ रहेको र उपमहानगरपालिकाले सो रङनै विराटनगरलाई कलर जोन बनाउन तोक्ने कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।
अबको दुई वर्षभित्रमा कलर जोनको विकास गर्न विराटनगर उपमहानगरपालिकाले योजनाअघि बढाएपछि विराटनगरका ४६ हजार घर एकै रङका बनाउन लागिएको हो ।
डा सनत बरालको नेतृत्वमा बनेको विराटनगर कलर जोन समितिमा उद्योग सङ्गठन मोरङका सुयेस प्याकुरेल, मोरङ व्यापार सङ्घका प्रकाश मुण्दडा, विराटनगर उपमहानगरपालिकाका पुनम दाहाल र नगर समन्वय समितिका संयोजक राजेश मास्के हुनुहुन्छ ।”

सो समितिले सेतो, सिम्रिक, गुलाबी, खराने रङ छनोट गरेको छ । छानिएका चार वटा कलरलाई फेसबुक तथा वेबसाइट र एसएमएस भोटिङ खुल्ला गरेको छ । सो रङमध्ये बढी मत ल्याउने रङ नै विराटनगरको लागि उत्कृष्ट रङ हुने कार्यकारी अधिकृत गोपाल रेग्मी बताउनुहुन्छ ।

उहाँका अनुसार दुई वर्षे यो कार्यक्रममा रङ खरिदका लागि नगरवासीको लागत रकमको ३० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने छ ।
कार्यक्रममा मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र उद्योग सङ्गठन मोरङका उपाध्यक्ष सुयस प्याकुरेलले २० देखि ३० प्रतिशत कर छुट योजना राम्रो भएको बताउनुभयो ।

प्रतिक्रिया