ऊर्जा सङ्कट र भौतिक पूर्वाधारको काम प्रभावकारी बनाइने
काठमाडौँ, १२ माघ । सरकारले ऊर्जा सङ्कटको समाधान र भौतिक पूर्वाधार विकासलाई योजनाबद्ध रुपमा अगाडि बढाउने भएको छ ।
सिंहदरबारमा आज साँझ बसेको पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिको बैठकले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
सरकारले गत मङ्सिर ८ गते जारी गरेको श्वेतपत्रमा ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताएको थियो । मागको तुलनामा आपूर्ति हुन नसक्दा मुलुकले चरम ऊर्जा सङ्कट बेहोर्नु परेको छ ।
ऊर्जा मन्त्रालयले ऊर्जा सङ्कटकाल घोषणालगायत आवश्यक नीतिगत तयारी गरिरहेको छ । बैठकले तत्काल सो कार्ययोजना ल्याउन र त्यसको अन्य तयारी गर्नसमेत निर्देशन दिएको छ ।
यस्तै बैठकले सहजरुपमा इन्धन आपूर्तिको व्यवस्था मिलाउन र त्यसको प्रभावकारी कार्ययोजना समेत ल्याउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मन्त्रालय र निगमले ल्याउने कार्ययोजनाका आधारमा इन्धन आपूर्तिको व्यवस्था गर्नेछ ।
यस्तै गल्छी–रसुवागढी सडक र ओलाङचुङगोला सडकको निर्माण एवम् विस्तार कार्यलाई पनि यथाशक्य छिटो अगाडि बढाइने भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्ययोजना, बजेट तथा अन्य तयारी गर्नेछ ।
बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार ऊर्जा क्षेत्रको विकास, इन्धनको सहज आपूर्ति तथा भौतिक पूर्वाधारको विकास एवम् विस्तारका लागि सबै प्रयास र प्रयत्न गरिनेछ ।
उहाँले अर्को बैठकमा ती सबै विषयमा प्रष्ट कार्ययोजना पेस हुने र आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्रीद्वय कमल थापा र टोपबहादुर रायमाझी, आपूर्ति मन्त्री गणेशमान पुनलगायतको सहभागिता रहेको थियो ।
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा हुनुअगावै भौतिक पूर्वाधारको विकास र विकास खर्चलाई प्रभावकारी बनाउन अवलम्बन गरिने कार्ययोजना आगामी बैठकले तय गर्ने बताइएको छ ।
मन्त्रिपरिषद् मातहत रहने गरी सरकारले गत मङ्सिर २४ गते उक्त समिति गठन गरेको थियो ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया