अपहरणको नाटक गर्ने पूर्व लडाकु पक्राउ

इनेप्लिज २०७२ माघ १२ गते १६:०७ मा प्रकाशित

गोरखा, १२ माघ । अपहरणमा परेको झुठो नाटक गरेर प्रहरी र आफन्तलाई झुक्याएका गोरखाको छोप्राक–९ का २९ वर्षीय सन्दीप कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व लडाकुसमेत रहेका कुमाललाई प्रहरीले बाराको सिमराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गाउँलेबाट लिएको लाखौँ ऋण तिर्न नसकेपछि कुमालले अपहरणमा परेको नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । अपहरणकारीले आफूलाई अपहरण गरी आँखामा कालोपट्टी बाँधेको भन्दै कुमालले परिवारलाई टेलिफोन गरी जानकारी गराएपछि घटनाबारे प्रहरीमा खबर आएको थियो ।

कुमालले गत मङ्सिर २५ गते अपरिचित व्यक्तिले आक्रमण गरी नगद रु ८० हजार लुटेको र सोमध्ये रु ४० हजार छोप्राक–९ का शम्भु बस्नेतले फिर्ता गरेको भन्दै जिप्रकामा खबर गरेका थिए । कुमालले गत पुस १० गते आफू अपहरणमा परेको भन्दै परिवारलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।

“गाउँघरमा आर्थिक लेनदेनको कारोबार बिग्रिएपछि अपहरणको नाटक गरेका रहेछन्” प्रनाउ रजौरेले भन्नुभयो, “सिमराबाट पक्राउ गरी कुमाललाई जिप्रका ल्याई अनुसन्धान सुरु गरेका छौँ ।” प्रहरीले कुमालविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद थप गरेको छ ।

द्वन्द्वपीडितलाई सरकारले दिएको रकम लिएर कुमालले तरकारीखेतीका साथै कुखुरापालन व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया