राहतको खोजीमा एघार दिनकी सुत्केरी

इनेप्लिज २०७२ माघ ११ गते १०:२३ मा प्रकाशित

बारपाक (गोरखा), ११ माघ । सहरमा बसेका महिला सुत्केरी भएपछि कति दिन आराम गर्लान् ? जागिरे हो भने बिदामा बस्छन् । परिवारका सदस्यको रेखदेखमा पोषिलो खाना खाएर बच्चाको हेरचाहमा दिन बिताउँछन् । तर ‘गोरखा भूकम्प’को केन्द्रबिन्दू गोरखाको बारपाक–३ तुम्सीकाकी करिना गुरुङले आराम त परै जाओस् बच्चालाई न्यानो कपडाको जोहो गर्न पनि सक्नुभएन । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि एक्लै टहरोमा बस्दै आउनुभएकी उहाँ राहत सामग्रीको खोजीमा राहत बाँडेको शिविरसम्म आइपुग्नुभयो ।

कोक्रोमा एघार दिनको बच्चा बोकेर गुरुङ दुई घण्टा पैदल हिँडेपछि बारपाक–२ को मान्द्रे गाउँ आइपुग्नुभयो । बच्चालाई न्यानो कपडा लगाइदिन र न्यानोमा राख्न नसकेपछि उहाँ राहत सामग्रीको खोजीमा भौँतारिनुभएको हो । हिमपातपछि सरकार र विभिन्न सङ्घसंस्थाले न्यानो कपडा बाँडेका छन् । राहत लिन जाने उहाँबाहेक टहरोमा अरु छैनन् ।

“श्रीमान् विदेश, सासू, ससुरा अन्यत्रै बस्नुहुन्छ,” करिनाले दुःखेसो पोख्नुभयो – “टहरो त बनाएँ, बच्चालाई चिसोबाट जोगाउन मुस्किल भयो ।” बिहान, बेलुकीको चिसो स्याँठले गर्दा आमा र शिशु दुवैलाई सताएको छ । “बीस ठाउँमा बस्दै मान्दे्र आइपुगेँ,” असिनपसिन हुनुभएकी करिनाले भन्नुभयो – “न्यानो कम्बल, टोली र पछ्यौरा पाइन्छ रे भन्ने सुनेर आएको हुँ ।”

असल छिमेकी पोखराले बाँडेको न्यानो कपडा उहाँले बुझ्नुभयो । कोक्रोमा सुतेको बच्चा पिठ्युमा बोकेर दुवै हातमा राहतका पोका झुण्डाएर उहाँ माइततिर लाग्नुभएको छ । “दुई, चारदिन माइतीमै बस्छु, घरमा एक्लै कसरी बस्ने ? खाना आफैँ बनाउनुपर्‍यो, बच्चाको हेरचाह गर्नै प¥यो ।”– उहाँले भन्नुभयो । मान्द्रेबाट आधा घण्टाको दूरीमा रहेको माइतीमा केही दिन बस्ने र अलि बलियो भएपछि घर फर्कने करिनाको तयारी छ ।

प्रतिक्रिया