उपहार पाएपछि फेरिँदैछ महिलाको जीवनस्तर

इनेप्लिज २०७२ माघ ११ गते १०:०४ मा प्रकाशित

सुरेन्द्र भण्डारी

सुरुङ्गा (झापा), ११ माघ । “जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो”, शिवसतासी नगरपालिका दूधेकी कमला सुब्बाले भन्नुभयो, “म आफैँ अचम्ममा परेकी छु ऋण खाँदा पनि मालिक भइँदो रहेछ ।”

केहीवर्ष अघि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ऋण लिनका लागि दूधेका महिलालाई सङ्गठित गर्दै मिलिजुली नामक समूह गठन गर्दै सहकारीमा प्रवेश गरेको क्षण सम्झदै उहाँले भन्नुभयो । “सुरुमा त मलाई छिमेकीले पत्याएनन् सहकारीबाट लिएको ऋण तिमी कसरी तिर्छौं भनेर सोध्ने गर्थे” सुब्बाले भन्नुभयो । आर्थिक अवस्था न्यून भएकाले गर्जाे टार्न उहाँलाई हम्मेहम्मे पथ्र्याे । समूहमा आवद्ध भएर सहकारीमा ऋण माग्दा पाइन्छ भन्ने सुनेर नै उहाँले समूहका माध्ययमबाट सहकारीसँग ऋण लिन थाल्नुभयो ।

सहकारीबाट लिएको ऋणले बाख्रापालन व्यवसाय सुरु गरेर सुब्बाले त्यही बाख्रा बेचेर सहकारीको ऋण तिर्न थाल्नुभयो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाकै माध्ययमबाट अहिले उहाँले बाख्रापालन व्यवसाय गरिरहनुभएको छ । “अहिले मलाई आर्थिक समस्या छैन” उहाँ भन्नुहुन्छ । बाख्रापालन व्यवसायबाटै जीवनस्तरमा सुधार आएको सुब्बाको भनाइ छ ।

बाख्रा बेचेरै उहाँले मासिक रु तीस÷चालिस हजार बचत गरिरहनुभएको छ । “ सहकारीबाट ऋण खाँदा मालिक भइन्छ जस्तो लागेकै थिएन,” सुब्बाले भन्नुभयो, “समूहमा आवद्ध महिलाका लागि सुरु गरेको उपहार कार्यक्रमले सहकारीबाट ऋण लिने धेरैलाई मालिक बनाएको छ ।” न्यून ब्याजदरमा ऋण पनि पाइने उपहार पनि । सुब्बाकै पहलमा २०७१ माघमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ‘साइनो हाम्रो सहाराको’ कार्यक्रम सञ्चालन गरिएको हो । अहिले यस क्षेत्रका ६०० महिलाको जीवनस्तर बदल्न यही कार्यक्रमले सघाउ पु¥याएको छ ।

सहाराकै माध्ययमबाट सुब्बाले पशु व्यवस्थापन तालिममा त्यस क्षेत्रका महिलालाई आवद्ध गराउँर्दै पशु उपहार कार्यक्रममार्फत धेरैलाई स्वावलम्बी बनाउनुभएको ‘साइनो हाम्रो सहाराको’ कार्यक्रम संयोजक कुमार भट्टराईको भनाइ छ । तालिम पछि दशवटा बाख्रा उपहार लिनुभएकी सोही नगरपालिका–८ का मीना कार्कीेले बाख्रापालनलाई व्यवस्थित गर्न जिल्ला पशुसेवा कार्यालयमा नमूना बाख्रापालन कृषि फार्म नै दर्ता गर्नुभएको छ ।

मिलनसार सहारा महिला समूहमा आवद्ध मीनाको खोरमा अहिले २४ बाख्रा पुगेका छन् । उपहार लिएका बाख्राका पाठापाठी र खसी बेचेर उहाँले घरखर्च टार्दै आउनुभएको छ । कार्कीसँगै दशवटा बाख्रा उपहार लिनुभएका धनकुमारी गौलीसित अहिले ४० वटा बाख्रा पुगेका छन् । अन्य महिलाले पनि कार्कीसंगै समूहमा आवद्ध भएर बाख्रा र बङ्गुरपालन गरिरहनुभएको छ ।

सहारामा समूहगत रुपमा आवद्ध महिलाका लागि उपहारस्वरुप प्रदान गरेको बाख्रा, बङ्गुर, कुखुरा, माहुरीका माध्ययमबाट त्यस क्षेत्रका ६०० घरपरिवार लाभान्भवित भएका सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी बताउनुहुन्छ । सहारा नेपालले विपन्न समुदायका महिलाको जीवनस्तर उकास्न गत आवमा ८३ महिलालाई रु १९ लाख पाँच हजार बराबरको बाख्रा र बोका, ५२ जनालाई रु ११ लाख ४५ हजार बराबरको २२९ बङ्गुर तथा १९ जनालाई रु नौ लाख ५० हजार बराबरको ९५ मौरीका घार वितरण गरिएको छ । “उपहार पाउने परिवारले आफ्ना समूहका अन्य सदस्यलाई बाख्रा र बङ्गुर ब्याएपछि उपहार स्वरुप पहिलो सन्तान प्रदान गर्छन् अनि माऊलाई निजी बनाउँछन्” गिरीले भन्नुभयो ।

चालु आवमा त्यस क्षेत्रमा सहारा नेपालले गरिबी निवारणका लागि रु एक करोड २० लाख लगानी गर्ने तथा त्यस क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको छ । महिलालाई सामाजिक र आर्थिकरुपमा सबल बनाउन सीप सिकाउने र सोही सीपका माध्ययमबाट आर्थिक विकास गराउने सहकारीको नीति छ भने पशुपालनका लागि घाँस रोप्ने कार्यक्रमलाई समेत अघि बढाएको छ ।

प्रतिक्रिया