दुहवी हत्या प्रकरणमा दश पक्राउ

इनेप्लिज २०७२ माघ १० गते १०:०२ मा प्रकाशित

इटहरी, १० माघ । यही माघ ६ गते हत्या गरिएका दुहवीभलुवा नगरपालिका–१ प्रास्टोकीस्थित मुस्लिम समुदायका एक व्यक्तिलाई साह समुदायका मानिसले चोरीको उद्देश्यले आएका बेला कुटपिट गर्दा मृत्यु भएको भन्ने यस अघि सार्वजनिक विवरण झुठो सावित भएको छ ।

स्थानीय लक्ष्मी साहको घरमा चोरी गर्न आएका ३० वर्षीय मोहम्मद आलमलाई साह परिवारले षडयन्त्र गरेर उनलाई सम्पताला साहको घर अगाडि बाँसमा हातखुट्टा बाँधेर रातभरी शरीर थाङथिलो हुने गरी कुटेका कारणले मृत्यु भएको मुस्लिम नेताले आज इटहरीमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य तैयव हुसेन, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव मोहम्मद जलिल रैन, नेपाली काँग्रेसका ३ नं क्षेत्रीय अध्यक्ष मेहदी हुसैन तथा मृतक मोहम्मदका मामा जिव्रिल मियाँले उनलाई भोजका लागि बोलाएर रातभर पिटेर बाँधी राखेकाले उनले समयमा नै उपचार सेवा नपाएका कारणले ज्यान गएको बताउनुभयो ।
मृतक मोहम्मद आलम र सम्पतलाल साहका छोरा श्याम साह एक आपसमा मित भएको र विदेशमा रहेका श्यामले आफू घरमा आएका बेला भोज खानुपर्छ भनेर निम्ता गरेपछि उनको घर अर्थात् मितबाबु लक्ष्मी साहका घरमा भोजको निम्ता मान्न जाने क्रममा सम्पतलाल साहको घरमा पुगेपछि उनलाई साह समुदायका मानिसले बाँधेर रातभर राखेको प्रत्यक्षदर्शीले बताएको पनि मुस्लिम नेताले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उनलाई रातभर पिटेर मारेको भन्ने गाउँलेहरुको जिकिरका आधारमा इलाका प्रहरी कार्यालय दुहवीले सम्पतलाल साह उनका छोराहरु श्याम, सदानन्द तथा उनको घर आसपासका लक्ष्मी साहका नाती सन्जय, ६६ वर्षीय मिस्त्रीलाल साह, रामलाल साहको नाती अजय, सहदेव साह, उमेश साह, दिनेश साह, बुलट साह, अजय साहलाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

एमाले बैकल्पिक केन्द्रीय सदस्य हुसेनका अनुसार अझै सो घटनामा संलग्न भएका १४ जना साह समुदायका मानिस फरार भएको र उनीहरुको प्रहरीले खोजी गरिरहेको पनि पत्रकार सम्मेलना जानकारी गराइएको छ । मुस्लिम नेताले षडयन्त्रमा पारेर चोर भन्दै मानिसको हत्या गर्ने साह समुदायलाई कडा कानुनी कारबाही गर्न पनि मुस्लिम नेताले माग गरेका छन् ।

प्रतिक्रिया