आठौँ शताब्दीको माधवनारायण मेला सुरु
भक्तपुर, १० माघ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजदेखि भक्तपुरको हनुमानघाटमा सुरु भएको छ ।
नेसंको आठौँ शताब्दीदेखि सुरु भएको सो मेला अन्तर्गत हनुमानघाटमा माघ महिनाभर व्रत बसिन्छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको यहाँका पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिनुभयो ।
नेसं ७२२ मा राजा रणजित मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको कुरा शिलालेखमा उल्लेख छ । यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ भक्तजन व्रत बस्न र स्नान गर्न आउने गरेको उहाँले बताउनुभयो ।
महिना दिनसम्म यहाँ व्रत बस्न व्रतालुका लागि भने ढल बगेको पानीमा स्नान गर्नुपर्ने बाध्यता भएको माधवनारायण मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । नगरपालिकाले ढलको व्यवस्थापन नगर्दा यहाँ व्रत बस्न चाहने पनि साँखुको शालीनदीमै व्रत बस्न जान थालेपछि यहाँ व्रत बस्नेको सङ्ख्या घट्दै गएको पुजारी गोपाल शर्माले बताउनुभयो ।
केही वर्ष अघिसम्म व्रत बस्नेको सङ्ख्या ५० भन्दा बढी रहने गरेकामा नगरपालिकाले नदीमा ढल खसाल्न थालेपछि व्रतालुको सङ्ख्या घट्दै गएर पुरानो र प्रसिद्ध मेला नै सङ्कटमा परेको उहाँको भनाइ छ ।
व्रतालु महिला यहीँ बसे पनि पुरुष भने हरेक दिन बिहान त्रिवेणीमा आएर नुहाई व्रतालु महिलासँगै विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने गर्छन् ।
व्रतालुले औँसीदेखि नै खाली खुट्टा पैदल तिलमाधवबाट तलेजु भवानीसम्म जाने, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसी स्नान गरेर इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा वाग्मतीमा स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया