रुप्से र अन्धगल्छी सङ्कटमा

इनेप्लिज २०७२ माघ १० गते ३:०७ मा प्रकाशित

बेनी (म्याग्दी), १० माघ । सडक, यातायात र भौतिक पूर्वाधारको पहुँच नहुँदा विश्वप्रसिद्ध रूप्से छहरा र विश्वकै सर्वाधिक गहिरो अन्धगल्छीको अस्तित्व सङ्कटमा परेको छ ।

म्याग्दीको दाना गाविसमा रहेका दुई विश्व प्रसिद्ध सम्पदा मोटरबाटोकै कारण सङ्कटमा परेका हुन् । बेनी–जोमसोम मोटरबाटोको निर्माणले पदमार्गलाई विस्थापन गरिदिएपछि प्रकृतिप्रदत्त सौन्दर्यको उपहारमा क्षति पुगेको छ ।

अन्धगल्छी र रूप्से छहराको बीचमा निर्माण भएको सडक भत्किएर पहिरो गएपछि यिनीहरूको प्राकृतिक स्वरूपमा परिवर्तन आई पर्यटक आगमन घटेको छ । पहिले दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने रूप्से र अन्धगल्छीमा अहिले ४०÷५० जना मात्र आउने गरेको स्थानीयव पर्यटन व्यवसायी बताउँछन् ।

एक सय मिभन्दा अग्लो छहरा हुँदै पहरामा बगेको सुन्दर र मनमोहक रूप्से छहरा नजिकै अवस्थित अन्धगल्छी पाँच हजार मिभन्दा गहिरो छ । अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाबीच भएर बग्ने कालीगण्डकी नदीको कटानका कारण बनेको अन्धगल्छी विश्वकै गहिरो गल्छी हो ।

मोटरबाटोका कारण रूप्से र अन्धगल्छीको प्राकृतिक स्वरूप बिग्रन थालेपछि यसको संरक्षणका लागि दाना युवा क्लब, आमा समूहलगायत सङ्घसंस्थाले पहल सुरू गरेका छन् ।

अन्धगल्छीलाई व्यवस्थित गरी चारैतिरबाट अवलोकन गर्न सकिने बनाइएको भए पनि त्यहाँ आजकल थोरै मात्र पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया