कविता-छातीमाथि धरहरा !

इनेप्लिज २०७२ माघ ९ गते १३:५४ मा प्रकाशित

गौतम उदय

बालक बृद्ध नौजवान, जुट्ने छौं हामी साराका सारा
क्षतविक्षत गाउँ र शहर, पार्ने छौं फेरि हरा र भरा
यी छातीमा ठड्याउने छौं, हाम्रो धरहरा
नत्र त हामी, कसरी भयौं र नेपाली !
कसरी भयौं र नेपाली !!
चोट छन् तनमा पीडा छ मनमा, तर हामी हारेका छौनौं
दुखमा पर्दा यो जन्मभूमिलाई, कहिलै टुहुरो पारेका छैनौ
रुँदा जननी धाँजा फाटी, चर्किन्छ संगै नेपाली छाती
नत्र त हामी, कसरी भयौं र नेपाली !
कसरी भयौं र नेपाली !!
छरिए पनि टाढा भूगोलमा, नेपाल नै बहन्छ नसा-नसामा
बीरताको गाथा इमानको ताज, जीवित राख्ने छौं इतिहासमा
उठाउने छौं मुठी र पाथी, बन्ने छौं एउटै कमिलाको ताँती
नत्र त हामी, कसरी भयौं र नेपाली !
कसरी भयौं र नेपाली !!
दरवार देवल स्तूप र पाटी, हाम्रै पुर्खाका पौरख हुन्
फरक आस्थाका भए पनि ती, हाम्रा साझा गौरब हुन्
एक-एक दुरुस्त पार्ने छौं, सन्तानमा नासो सार्ने छौँ
नत्र त हामी, कसरी भयौं र नेपाली !
कसरी भयौं र नेपाली !!

प्रतिक्रिया