त्यो हिउं र यो हिउं

इनेप्लिज २०७२ माघ ९ गते २:०६ मा प्रकाशित

gunraj luitel

 

 

 

 

 

 

 

 

 

त्यो हिउं र यो हिउं

भन्ने शब्द फरक होला
तर यो हिउदै हो
त्यहां पनि
यहां पनि ।
हिउं खस्छ त्यहां पनि
यहां पनि ।

तर फरक यति कि
त्यहांको हिउले
बेग्लै अस्तित्व बोकेको छ
त्यो हिउले
बेग्लै जीवन गाथा
अनि कथा थप्दै जान्छ
त्यो हिउ खस्छ
संसारको शिर माथि
स्वच्छ, सेतो, निश्कलंक
एवं अटल स्वभावले ।

त्यो हिउको एउटा निश्चित लक्ष्य छ
उसले संसारको अस्तित्वलाई
उठाउनु छ
उसले निश्चित
गन्तब्य पूरा गर्नु छ
उसले सगरमाथालाई
उचाल्दै उचाल्दै
आकाश गंगामा पुर्याउनु छ
अनि उस्ले त्यो उचाइबाट
स्वयम्भूका दुई आंखाले
संसारलाई नियाल्नु छ ।

त्यो हिउले घच्घच्याइ रहेछ
उसैको काखमा हुर्किएको
सभ्यतातर्फ हेर्न
त्यहीं प्रतिबादित बुद्धत्वका
सारलाई बुझ्न
वेद, विद्धान्त एवं
पूर्वीय दर्शनका भाखाहरु टिप्न
त्यसैले त
त्यो हिउको
बेग्लै महत्व छ,
बेग्लै अस्तित्व छ
त्यसैले त मान्छे
त्यसैलाई चुम्न चाहन्छ
सगरमाथाकै आरोहण गर्न चाहन्छ ।

हो हिउं त हिउ नै हो
यहां खसेको पनि
तर खै यो हिउको मूल्य?
पत्झरका पाल झैं
फालिएको छ बाटाभरि
अस्तित्वविहीन भएर
लतारिएको छ पाखाभरि
जुत्ताले टेक्नै पर्ने,
बेल्चाले पेल्नै पर्ने
उस्को छातीमा नून बर्षाउदा
चरम बेदना सहंदै
विलीन हुनु पर्ने

यो हिउं
गन्तव्यविहीन झटारो जस्तो
फुस्सफुस्स झरिरहेछ जताततै
हिउको पनि
खस्ने निश्चित स्थान हुनु पर्ने रहेछ
यसको पनि आफ्नै
अभिष्ट हुनु पर्ने रहेछ
जगतको प्रेम, स्नेह र ममता पाउन
यो हिउले पनि जगतलाई
बुझ्नै पर्ने रहेछ

सांच्चिकै हिउं हो भने
यो हिउं किन यहां खसिरहेछ?
आफ्नो मूल्य विर्सिएर
किन आफैलाई उदारो बजारमा
फिजाइरहेछ?
यो हिउले किन गल्ती
गरिरहेछ?
किन त्यहां खस्दैन
र अमेरिकामा खसिरहेछ ?
घामले पटक पटक
सोधिरहेछ
जुनले प्रश्न गरिरहेछ
आफ्नै आबरुलाई निबस्त्र पारेर
यो हिउ किन यहां खसिरहेछ ?
किन यहां खसिरहेछ?

प्रतिक्रिया