बुटवल, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको अबको महाधिवेशनमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस लामो समयसम्म परिवारबादबाट बाहिर निस्कन नसकेको भन्दै उहाँले अबको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्नुभयोे ।
नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं ४ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो– “अबको सभापतिमा मलाई विजयी गराउनुहोस् ।”
वरिष्ठ नेता देउवाले आफू सभापति भए सबै नेताकार्यकर्तालाई सम्मानित हुने गरी स्थान दिनेसमेत बताउनुभयो । गिरिजाबाबु र आफ्नो बलिदानबाट काँग्रेस मुलुककै सबैभन्दा ठूलो शक्ति बनेको दाबी गर्दै देउवाले अबको सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “पार्टीलाई एकढिक्का बनाएर लैजान्छु, मैले कसैलाई काखा कसैलाई पाखा गर्दिनँ ।”
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र बालकृष्ण खाँडले आगामी महाधिवेशनले पार्टीलाई एकजुट बनाउने बताउनुभएको थियो ।
प्रतिक्रिया