रङ्गेली घटना सुनियोजित होः युवा सङ्घ

इनेप्लिज २०७२ माघ ८ गते १२:४१ मा प्रकाशित

काठमाडौँ, ८ माघ । युवा सङ्घ नेपालले मोरङको रङ्गेलीमा बिहीबार भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

यहाँ आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले सङ्घले एक महिनादेखि ‘मधेस संवाद तथा जागरण अभियान’ सञ्चालन गर्दै आएको र सोही अभियानका क्रममा रङ्गेलीमा कार्यक्रम गर्दा मधेसी मोर्चाले सुनियोजित ढङ्गले कार्यक्रमलाई अवरोध पु¥याई बिहीबारको घटना गराएको आरोप लगाउनुभयो ।

उहाँले सुरक्षाकर्मीले उक्त घटनालाई नियन्त्रणमा लिने क्रममा गरेको हवाई फायरबाट मोर्चा आबद्ध तीन जनाको मृत्यु हुन गएकामा दुःख व्यक्त गर्दै लोकतन्त्रमा शान्तिपूर्वक भेला, अन्तक्र्रिया र सभासम्मेलन गर्ने पाउने जनताको नैसर्गिक अधिकारलाई मोर्चा आबद्ध नेता तथा कार्यकर्ताले गरेको अवरोध लोकतन्त्रविरुद्ध रहेकाले घटनाको जिम्मेवारी मधेसी दलले लिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले भन्नुभयो– “लोकतन्त्र, संविधान, मानवअधिकार, सामाजिक न्याय विरुद्ध मधेसी मोर्चाले जुन गतिविधि ग¥यो, त्यो निन्दनीय कार्य हो ।” उहाँले त्यस घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने र घटनामा संलग्न अपराधीलाई तुरुन्तै कारबाही गर्नुपर्ने बताउनुभयो ।

सङ्घले संविधानका बारेमा तथा अहिलेसम्मका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई मधेसी जनताका घरदैलोमा गत मङ्सिरदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा मधेसी दलका प्रतिनिधिलाई पनि निमन्त्रणा गरेको बताइएको छ ।

प्रतिक्रिया