‘नयाँपानी’लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल सुरु

इनेप्लिज २०७२ माघ ७ गते ७:०६ मा प्रकाशित

चौतारा, ७ माघ । सिन्धुपाल्चोकको बाडेगाउँ–४ धुसेनीस्थित नयाँपानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयले पहल सुरु गरेका छन् ।

प्रत्येक १२ वर्षको कात्तिक महिनामा पानीको मुल पलाउने र असारमा सुक्ने विशेषता रहेको सो स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ स्थानीयले पहल सुरु गरेका हुन् ।

सो क्षेत्रमा यही माघ ९ गतेदेखि सुरु भई आगामी फागुन १० मा समापन हुने गरी एक महिने विशेष कार्यक्रमको आयोजना गरिएको नयाँपानी क्षेत्र संरक्षण समितिले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ ।

सो कार्यक्रममा कथा व्यास स्वामी सम्पूर्णानन्द सरस्वती प्रमुख बाचक रहेको र गुरुकुलमा अध्ययनरत पञ्चकन्या विदुषी बाचिकाद्वारा एक महिने चतुर्वेद पारायण ज्ञान महायज्ञको आयोजना गरिने समितिले जनाएको छ । पञ्चकन्या विदुषीद्वारा चार वेदको बाचन गरिन लागेको नेपालमै पहिलो भएको संरक्षण समितिका सचिव रमेशप्रसाद तिमिल्सिनाको दाबी छ ।

प्रत्येक १२÷१२ वर्षको सुक्खायाममा मूल पलाई नौ महिनापछि मूल सुक्ने सो स्थानमा स्थानीयले यसअघि खासै चासो दिएका थिएनन् तर २०६८ सालमा पुनः मुल पलाएपछि नयाँपानी स्नान मकर महोत्सवको आयोजना गरिएको थियो ।

सो क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण गरिएको र सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको सम्पर्क समन्वय समितिका सदस्य शशीनाथ आचार्यले बताउनुभयो ।

समुद्री सतहबाट करिब एक हजार ५५० मि को उचाइमा रहेको सो स्थानमा सल्लाको रुखको बीचमा रहेको पहरो फुटेर आधा इन्च पानी पलाउने गरेको समितिका अर्का सदस्य बुद्धिप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया