कोरियाली कविको ‘प्रार्थना’

इनेप्लिज २०७२ माघ ६ गते २:५४ मा प्रकाशित

काठमाडौँ, ६ माघ । दक्षिण कोरियाका कवि जङ् इल्गुनले लेखेको कवितासङ्ग्रह ‘प्रार्थना’ को मङ्गलबार विमोचन गरिएको छ ।

कोरियाली भाषामा लेखिएको कवितालाई नेपाली भाषामा समेत अनुवाद गरी लेखिएको उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

नेपाल कोरियाली संस्कृति केन्द्रद्वारा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साहित्यलाई कुनै पनि देशको सिमाना, संस्कृति, भाषा, समुदाय, राजनीति र विवादभन्दा माथि राखेर हेर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मलाई कोरियाको जेजु सहरको पर्यटनलाई नेपालको पोखरामा र कोरियाको विकासलाई नेपालको विकासमा अनुवाद गर्ने इच्छा छ ।”

सङ्ग्रहका सम्पादक रामबाबु सुवेदीले भाषा, दृश्य र शैलीको त्रिवेणीका रुपमा सङ्ग्रहलाई चित्रण गर्दै कोरिया र नेपालबीचको पुलको काम साहित्यले गरेको बताउनुभयो ।

साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मा, केन्द्रका अध्यक्ष मञ्जु गुरुङलगायतले साहित्यका माध्यमबाट कोरिया र नेपालबीचको सम्बन्ध बलियो भएको विचार राख्नुभयो । कार्यक्रममा नेपालका तथा कोरियाका कलाकारले आआफ्नो नृत्य प्रस्तुत गरेका थिए भने प्रदीप बम्जनले आफ्नो साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया