प्रगतिशील महिला स्रष्टाको योगदान

इनेप्लिज २०७२ माघ ३ गते ५:५३ मा प्रकाशित

काठमाडौँ, ३ माघ । साहित्य सन्ध्याको ३५६ औँ शृङ्खलाअन्तर्गत शनिवार भएको कार्यक्रममा प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयमा चर्चा भयो ।

कार्यक्रममा प्रा जगत् उपाध्याय ‘प्रेक्षित’ले २५० वर्षको लिखित साहित्यको इतिहासमा १८७० मा प्राणमञ्जरीदेवीदेखि ‘सर्वार्थ योगवाणी’की स्रष्टा न्यौपाने परिवारकी बाल विधवा योगमायाको सङ्घर्ष, विद्रोह हुँदै १९९१ को शारदा पत्रिकाको प्रकाशनपछि धेरै महिला स्रष्टा नेपाली प्रगतिशील साहित्यको फाँटमा देखा परेको जानकारी दिँदै धेरै प्रगतिशील महिला स्रष्टाहरुले समाजमा देखिएका यावत् विकृतिको अन्त र लैङ्गिक विभेदको अन्त्य गर्ने तथा समतामूलक समाज निर्माणका पक्षमा आफूलाई उभ्याइरहनुभएको बताउनुभयो ।

चिन्तक विष्णु प्रभातले प्रगतिशील स्रष्टाले द्वन्द्वात्मक भौतिकवादी अवधारणा अनुसार हरेक विषय वस्तुलाई स्रष्टाले विश्लेषण गर्नुपर्छ, गम्भीरतापूर्वक केलाउनुपर्छ र आफ्ना सिर्जनालाई सुन्दर बनाउनुपर्छ भन्नुभयो ।

सो अवसरमा बालकविहरू प्रलिशा अधिकारी र प्रजिशा सत्याल तथा मुकुन्द न्यौपाने, पूर्ण विराम, अतृप्त पाण्डेय, कणाद महर्षि, सानु पहाडी, ब्रह्मप्रिय प्रेमस्वरूप, निर्भीक राई, विजयध्वज थापा, वैरागी जेठा, गोपाल नेपाल, नर्मदेश्वरी सत्याल, गौरी दाहाल, इन्दु अंशु, उर्मिला पन्त पाण्डेयलगायतले समसामयिक कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
सन्ध्याका अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्याको हरेक महिनाको गोष्ठीलाई विशेष महत्त्वको पार्ने प्रयत्न भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया