बेसहारा बनिन् बालकुमारी

इनेप्लिज २०७२ माघ २ गते ३:३० मा प्रकाशित

इटहरी, २ माघ । सुनसरी सदरमुकाम इनरुवा–७ तामाङ टोल निवासी ७१ वर्षीया बालकुमारी खनालले कान्छो छोरो फर्किएर आउँला कि भनेर दिन गनेर बिताएको पनि चौध वर्ष बितिसक्यो । तर कान्छो छोरा दिनेश खनाल जीवित नै छन् कि छैनन् भन्ने खबरसम्म पनि उनले पाउन सकेकी छैनन् ।

उनका श्रीमान्को २०३० सालतिरै निधन भयो । जेठो छोरा रन्जन खनालले पनि आजभन्दा ९ वर्षअगाडि नै यो धर्ती त्यागे । जिल्ला विकास समितिको कार्यालय अगाडि सडकतिर टहलिँदै गर्दा रन्जनलाई ट्याक्टरले किचेको थियो ।

उनका साथमा दुई छोरी छन् । दुबैको विवाह भइसकेको छ । कान्छी बुहारी पनि अर्कैसँग लागेपछि बालकुमारीको जीवनमा बज्रपात नै प¥यो । कान्छो छोरो साथमै हुँदा कान्छी बुहारीको मति बिग्रिसकेको बालकुमारीको भनाइ छ ।

कान्छो माओवादीमा भने नलागेको बालकुमारी बताउँछिन् ।

घरपरिवारमा जे जस्तो विपद् आइपरे पनि बालकुमारीले जेठी बुहारीसँग मिलेर घर चलाउँदै आएकी थिइन् । श्रीमान्को मृत्युपछि दुई बच्चाकी आम उनी पनि विरक्तिएकी थिइन् । उनी काम खोजेर बालबच्चाको भविष्य बनाउने योजनासहित इटहरीको रिजाल टाँसी उद्योगमा काम गर्न गएको बालकुमारी सुनाउँछिन् ।

अहिले उनी जिल्ला प्रशासन कार्यालयअगाडि सानो बेन्च राखेर हुलाक टिकट, नागरिकताको फाराम बेचेर दुई चार पैसा कमाउँछिन् र त्यसैबाट गुजारा चलाइआएकी छिन् । यो पेसा अँगालेकै पनि २५ वर्ष भइसकेको उनी बताउँछिन् । कान्छो छोराका दुई सन्तान पनि पोखरातिर भएकी ठूलीआमाकहाँ गएर उतै बस्न थालेका छन् । बेसहारा बालकुमारी बेपत्ता भएको कान्छो छोरो कहीँ कतैबाट टुप्लुक्क आई पो पुग्छ कि भन्ने आशा पालेर बसिरहेकी छिन् ।

वृद्ध बालकुमारीलाई जेठा ज्वाइँ प्रमोद चौलागार्इं जस्तै कान्छो छोरो फर्केर पो आउँछ कि भन्ने आश छ । उनको जेठो ज्वाइँ बेपत्ता भएको १४ वर्षपछि टुप्लुक्क घर आइपुगेको उनी सुनाउँछिन् । बेपत्ता परिवारले पाउने सरकारी पैसा पाए हुन्थ्यो भन्ने आशा छ उनमा । उनले भनिन्, “खोई मेरो त छोरा बेपत्ता भएको पनि धेरै वर्ष भइसक्यो । कसैले मरेको वा बाँचेको केही खबर नै पो ल्याउँदैनन् । मेरो त लुटिने, बेपत्ता हुने र आफन्त भन्नेहरुले छाडेर जानेबाहेक आफूसँग अब त केही पनि बाँकी नरहने भो ।”

कहिलेकाही छोरीज्वाइँ, जेठीबुहारी आएर सञ्चो विसञ्चो सोध्ने र केही पैसासमेत दिएर जाने उनी बताउँछिन् ।

प्रतिक्रिया