वीरगन्जमा रोकिएका ग्यास बुलेट अर्को नाकाबाट भित्र्याइने

इनेप्लिज २०७२ पुष २९ गते १४:१४ मा प्रकाशित

वीरगन्ज, २९ पुस । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमा रक्सौलमा महिनौँदेखि रोकिएका ग्यास बुलेट रिरुट गरी नेपाली भित्र्याइने भएको छ ।

भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि विगत चार महिनादेखि सीमावर्ती भारतीय सहर रक्सौलमा नै थन्किएका हुन् ।

सीमावर्ती भारतीय सहर रक्सौल बजारदेखि करिब पाँच किमी टाढाको खुल्ला क्षेत्रमा अलपत्र अवस्थामा रहेका २५० बुलेट ग्यास रिरुट गरी नेपाल भित्र्याउने तयारी भइरहेको ग्यास बोटलिङ गर्ने उद्योगका सञ्चालकले बताएका छन् ।

सीमा अवरोध हुनासाथ रोकिएका ती बुलेट भारत र नेपाल दुवैपट्टिको भन्सार जाँच भएर रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेका कारण अर्को नाकाबाट फिर्ता लैजान सकिएको थिएन । अहिले कागजात दाखिला फुकुवा भएपछि ग्यास निर्यात गर्ने डिपोबाट नयाँ रुट तोकी अन्य नाकाबाट भित्र्याउन बाटो खुलेको हो ।

रक्सौलमा भन्सार तिरेको कागज अन्य भारतीय नाका भन्सार कार्यालयलाई देखाएर बुलेट ल्याउने प्रयास सुरु भएको ग्यास उद्योग सञ्चालकको भनाइ छ । भारतीय भन्सार अधिकारीले एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट लैजान दिन तयार भएकाले रक्सौलमा रोकिएको ग्यास बुलेट रिरुट गरी नेपाल भित्र्याउन लागिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ ।

कागजात दाखिला नगरेका बुलेटलाई भारतीय आयल निगमले अर्को नाकाबाट पठाउने तयारी गरेको हो । बाँकी बुलेटको हकमा रिरुट हुने जानकारी आएको मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले बताउनुभयो ।

नेपाल आयल निगमका अनुसार, नेपालका लागि करिब ५०० बुलेट ग्यास ल्याउने गरेका छन् । भन्सार दाखिला र रुट निर्धारणले ३०० भन्दा बढी बुलेट सीमावर्ती भारतीय क्षेत्रमा नै महिनौँसम्म थन्किएपछि नेपालका लागि ग्यास बोकेर आउने बुलेटको सङ्ख्या आधाजसो घटेको थियो ।

“यो समस्या निगम र सरकारले सबैभन्दा बढी प्राथमिकताका साथ सामाधान गर्नुपर्ने थियो,” ग्यास उद्योग सञ्चालक भन्छन् – “त्यसो नगरिदिँदा ग्यास बुलेटको अभाव सिर्जना भयो र यसले मुलुकमा ग्यासको हाहाकार भयो । रुट फेरिएर सबै बुलेट सञ्चालनमा आएको भए वीरगन्ज नाकामा अवरोध भए पनि बढीमा एकहप्ताको ढिलोमा अन्य नाकाबाट नेपाल भित्र्याउन सकिन्थ्यो ।”

भारतीय आयल निगमको बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेका छन् । भारतको पश्चिम बङ्गालको हल्दिया, विहारको बरौनी र उत्तरप्रदेशको मथुराबाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा रिरुटका लागि फिर्ता गरिएको रक्सौलस्थित भारतीय भन्सारका अधिकारीले बताएका छन् । रक्सौलमा थन्किएका २५० ग्यास बुलेटमध्ये आधा बरौनी र बाँकी आधामा हल्दिया र मथुराबाट आएका हुन् ।

वीरगन्जस्थित निगमका क्षेत्रीय कार्यालय प्रमुख अभिषेक ठाकुर ग्यास बुलेटको रिरुट गराउन पश्चिम बङ्गालको हल्दियास्थित भारतीय आयल निगमको रिफाइनरीमा पुग्नुभएको बताइएको छ ।

रक्सौलमा रोकिएका ग्यास बुलेट वीरगन्जबाट भित्रन नसकेपछि रिरुटको अनुमति लिएर रुपन्देहीको बेलहिया नाकाबाट नेपाल भित्र्याउने गृहकार्य सुरु भइसकेको नेपाल आयल निगम स्रोतले जनाएको छ ।

प्रतिक्रिया