अख्तियार टोली मलेसियातर्फ

इनेप्लिज २०७२ पुष २८ गते १२:५७ मा प्रकाशित

काठमाडौँ, २८ पुस । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।

आयोगका सहसचिवको नेतृत्वमा रहेको अनुसन्धान टोलीले श्रमिकले समस्या भोग्नुपरेको मुख्य बिन्दुमा नै गएर आठ दिनसम्म स्थलगत अध्ययन अनुसन्धान गर्ने प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो ।

उक्त टोलीमा आयोगका दुई अनुसन्धान अधिकृतका अतिरिक्त वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकसमेत रहनुभएको छ ।

टोलीले नेपाली कामदार कार्यरत कम्पनी, विभिन्न अभियोगमा हिरासतमा रहेका नेपाली कामदार, श्रमशोषणमा परेका कामदार तथा सम्बद्ध निकायसँग पनि छलफल तथा अन्तरक्रिया गर्नेछ ।

मलेसिया नेपाली कामदार रोजगारीका लागि जाने प्रमुख गन्तव्य हो । सो मुलुकमा १० लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।

समस्यामा परेका नेपाली कामदारलाई निःशुल्क कानुनी परामर्श तथा उपचार दिलाउने काममा सहयोग पु¥याउन मलेसियाली बार एसोसियसनसँग समेत टोलीले पहल गर्नेछ । प्रवक्ता पुस्करकाअनुसार नेपाली ‘एजेण्ट’बाटै ठगीमा परेको, शोषण व्यहोर्न बाध्य तथा यौनजन्य हिंसाबाट प्रताडित हुने कार्य कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि टोलीले अनुसन्धान गर्नेछ ।

रोजगारीको प्रमुख गन्तव्यका रुपमा परिचित मलेसियामा कार्यरत नेपाली कामदार सबैभन्दा बढी नेपालीबाटै ठगीमा परेका छन् । रोजगारदाता निकायले नै कामदारलाई श्रम शोषण गर्ने गरेको तथा त्यसमा नेपालीको नै सङ्लग्नता रहेको पाइएको छ ।

समस्यामा परेका नेपाली कामदारले नै आयोगलाई विभिन्न माध्यमबाट उजुरी गरेपछि आफूहरुको कार्यक्षेत्र भित्रै नै रहेर स्थलगत अनुगमनमा जान लागेको जनाएको छ ।

आयोगले कागजातविहीन अवस्थामा रहेका, रोजगारीमा जाने क्रममा भएको ठगी, अपराधीकरणको सिकार व्यहोर्नुपरेका, अनाहकमा जेल सजाय भोगीरहेका कामदारलाई कसरी स्वदेश फर्काउन सकिन्छ सो बारेमा समेत अध्ययन गर्नेछ ।

आयोगमा नेपाली दूतावासले श्रमिकको पीडा समाधान गर्न आवश्यक पहल नगरेको, श्रम सहचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको जस्ता उजुरी परेको जनाइएको छ ।

कानुनी सहायता श्रमिकमैत्री नभएको, राहत तथा उद्धारमा ध्यान नदिएको, मलेसियाका रोजगारदाता कम्पनीले विभिन्न कारणले मृत्यु भएका व्यक्तिलाई पनि प्राकृतिक मृत्यु भएको भनी कागजात बनाउने गरेको र मृतकलाई स्वदेश ल्याउन हुँदै आएको झन्झटलाई सामान्यीकरण नगरेको उजरीमा देखिएको प्रवक्ता पुस्करको भनाइ छ ।

कोप्रासी नामक एजेन्टले नक्कली कागजात बनाई नेपाली कामदारलाई ठगी गरेको भन्ने उजुरी पनि आयोगमा परेको छ ।

यसैबीच, आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा कार्यरत मलेसिएन एन्टी करप्सन कमिसनको प्रमुखको निमन्त्रणामा आगामी माघ ४ गते मलेसिया जान लाग्नु भएको छ ।

भ्रमणका क्रममा प्रमुख आयुक्त कार्कीले आयोग र मलेसिएन एन्टी करप्सन कमिसनबीच भ्रष्टाचार नियन्त्रणमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्रवक्ता पुुस्करको भनाइ छ ।

अन्तर्राष्ट्रिय साझा निकायमा दुई मुलुकबीच समान धारणा बनाएर अघि बढ्न हस्ताक्षरसँगै बाटो खुल्ने जनाइएको छ । प्रमुख आयुक्त कार्कीको मलेसिया भ्रमणको कार्यक्रम हालै नेपाल सरकार मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ ।

मलेसियामा रहँदा प्रमुख आयुक्त कार्कीले मलेसियाली मानव संशाधन मन्त्रीलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया