नेपाली जनसम्पर्क समितिको सल्लाह कार पद प्रतिक पाण्डेद्वारा अस्वीकार

इनेप्लिज २०७२ पुष २८ गते ११:४४ मा प्रकाशित

pratik pandey

नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको सल्लाहकारमा नियुक्त प्रतिक पाण्डेले उक्त पद अस्वीकार गर्नुभएको छ । संस्थाको विधानलाई पाखा लगाई, संस्थाको च्याप्टर गाइडलाइनलाई नजर अन्दाज गरि सल्लाहकार नियुक्ति गरिएको भन्दै पाण्डेले घोर आपत्ति जनाउनुभएको हो ।

आफ्नो नियुक्ति विधानसम्मत नभएकाले आफूले सो पदको जिम्मेवारी वहन नगर्ने पनि उहाँले एक वक्तव्य मार्फत जानकारी गराउनुभएको हो । उहाँले जब कुनै संस्था विधानबाट नभई व्यक्तिबाट चल्छ, त्यहाँ लोकतान्त्रिक पद्धतिको देहावसान गराई सो संस्था केही सीमित तानाशाह र अधिनायकवादीहरुले सञ्चालन गरेका हुन्छन् भनेर बुझ्नुपर्छ । रिमोट कन्ट्रोलबाट गाडी चल्दैछ भनेर बुझ्नुपर्छ, पाण्डेले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

वक्तव्यमा पाण्डेले च्याप्टर गाइडलाइन अनुसार बढीमा ५ जना सल्लाहकार मनोनयन गर्न पाइनेमा चुनावको बेला फलानो र चिलानो पद दिन्छु भनेर लोभ्याएको कोटा पूरा गरि २१जनाको जम्बो सल्लाहकार समिति गठन गरिएको पाण्डेले उल्लेख गर्नुभएको छ । एउटा च्याप्टर चलाउनका लागि २१ जना सल्लाहकार ? पाण्डेले अचम्म प्रकट गर्दै यसरी मनपरी ढङ्गबाट मनोमानी गर्दै विधान मिच्दै गठन गरिएको सल्लाहकार समितिलाई केन्द्रले अनुमोदन गर्न नहुनेमा पाण्डेले जोड दिनुभएको छ ।

जनसम्पर्क समिति केन्द्रीय समितिको हिम्मत छ भने विधान अनुरुप सबैले काम गर्नुपर्छ भन्न सक्ने हिम्मत यदि केन्द्रमा छ भने यो सम्पूर्ण नियुक्ति विधान सम्मत छैन भनेर खारेज गरोस, हैन भने केन्द्रको पनि मिलेमतो छ भन्ने स्पष्ट हुन्छ, पाण्डेले वक्तव्यमा जनाउनुभएको छ । उहाँले वक्तव्यमा जुन च्याप्टर गाइड लाइनलाई टेकेर च्याप्टरको निर्वाचन गराइएको थियो, अर्को निर्वाचन नहुञ्जेलसम्म त्यही च्याप्टर गाइड लाइनलाई मानेर अगाडि बढ्नुपर्छ, वक्तव्यमा भनिएको छ–आफ्नो अनुकूल परेको अवस्थामा च्याप्टर गाइडलाइनलाई मनपरी ढङ्गबाट परिवर्तन गर्न र बुझ्न हुन्न ।

उहाँले वक्तव्यमा अगाडि भन्नुभएको छ–चुनाबको करिब ४०-४२% मत ल्याउने अर्को समुहको कुनै औचित्य र हैसियत नै रहेन अब नर्दन क्यालिफोर्नियामा? समानुपातिक प्रतिनिधित्वको कुरा जात जातिलाई अधिकार बाँडफाँडको बेलामा मात्र लागु हुदैन, राजनीतिमा सबै पक्षलाई समेट्दा पनि लागु गर्न पर्छ। नर्दन क्यालिफोर्निया को चुनाबमा म लगायत मेरो सम्पूर्ण टिम नै पराजित भयो जसको अर्थ हामी अल्पसंख्यक भएकै हो र हेक्का राख्नुस जहाँ अल्पसख्यकको कदर भएको छैन त्यहाँ बिद्रोह भएको छ र बिद्रोहले समावेशी समाज निर्माण गरेको छ। १९ जनाको कार्य समितिमा २ जना सदस्य मनोनयन गर्दा समेत अर्कोपक्षलाई समेटौ भन्ने धारणा आएन तर यत्रो जम्बो सल्लाहकार समिति जसको वोटिंग अधिकार समेत हुदैन, त्यसमा समेत अल्पसंखयक समुहलाई वास्ता गरिदैन।

स्मरण रहोस, विगतको इतिहास हेर्दा पनि जनसम्पर्क समितिमा विवादको शुरुवात क्यालिफोर्नियाबाट भए को थियो भने अबका दिनमा पनि विधान विपरीत र एकलौटी तालले सल्लाहकार समिति गठन गर्दा केन्द्रीय समितिका सभापतिले के गर्नुहुन्छ ? त्यो आगामी दिनमा हेर्न बाँकी रहेको छ । नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका सभापति केन्द्रीय सभापतिको विशेष नजिकका भएकाले उहाँले सकेसम्म आफ्नो मान्छेलाई काँखी च्याप्ने र आफूसँग नजिक नभएकालाई अनुशासन समितिको धम्की दिंदै कारवाही गर्ने चेतावनी दिंदै हिंडनु भएको छ, यस्तो अवस्थामा के होला ? नाम नबताउने शर्तमा एक जना सदस्यका अनुसार नेतृत्व वर्गले सिकाएको कुरा हामीले गर्न के गाह्रो छ र ? हिजोका दिनहरुमा उनीहरुले पनि बाटो बिराएर गएका थिए भने आज हामीले पनि अर्को नयाँ निर्णय गर्न केही फरक नपर्ने ती सदस्यको भनाई थियो ।

प्रतिक्रिया