रत्ननगरमा आँखा अस्पताल

इनेप्लिज २०७२ पुष २६ गते ५:५७ मा प्रकाशित

चितवन, २६ पुस । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

अस्पतालले लामो समयको प्रयासपछि सो केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको शनिबार चितवन क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

नेपाल नेत्रज्योति सङ्घ चितवन र भरतपुर आँखा अस्पतालको सहयोगमा सञ्चालनमा ल्याइएको सो केन्द्रबाट विशेषज्ञसहितका सेवा दिइने बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । करिब दुई लाख जनताको बसोबास रहेको सो क्षेत्रमा सञ्चलन गरिएको सो केन्द्रले नेपालका सीमान्तकृत समुदाय चेपाङ र थारु समुदायका जनतालाई विशेष प्राथमिकतामा राखिने जनाएको छ ।

करिब रु १० लाखको लगानी र अस्पतालले उपलब्ध गराएको भवनमा उपचार केन्द्र सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेपाल नेत्रज्याति सङ्घका केन्द्रीय कोषाध्यक्ष वामदेव खनाल, सङ्घका जिल्ला अध्यक्ष चिजकुमार मास्के, रत्ननगरका पूर्व मेयर नारायण वन, नेपाली काँग्रेसका नगरसभापति रुपनराज घिमिरे, नेकपा (एमाले)का नगर अध्यक्ष प्रेम दवाडी, हरिशरण पाठकलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया