महायज्ञमा साढे चार करोडको दान सङ्कलन

इनेप्लिज २०७२ पुष २५ गते ४:५० मा प्रकाशित

रामपुर (पाल्पा), २५ पुस । व्यावसायिक तथा प्राविधिक शिक्षा सञ्चालनका लागि रामपुरमा चलेको श्रीमद्भागवत महायज्ञमा नगद तथा जग्गा दान समेत गरी जम्मा रु चार करोड ४४ लाख ६५ हजार २३२ दान सङ्कलन भएको छ ।

दरैठाँटी उच्च माविमा व्यावसायिक तथा प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक रकम जुटाउने उद्देश्यले नौ दिनसम्म महायज्ञ सञ्चालन भएको हो । महायज्ञमा ५०० मुरीभन्दा बढी धान सङ्कलन र ६१ जना वृद्धवृद्धाले तुलादान गरेको मूल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताउनुभयो । ८४ वर्ष पुग्नुभएका विष्णु ढुङ्गानाले महायज्ञको अन्तिम दिन शुक्रबार ८४ पूजासमेत गर्नुभयो ।

रामपुरमा स्थापना हुन लागेको व्यावसायिक शिक्षाबाट पाल्पालगायत स्याङ्जा, तनहुँ, नवलपरासीका जनता लाभान्वित हुनेछन् ।

महायज्ञमा सबैभन्दा धेरै रामपुर–९ विजयपुरका ज्येष्ठ नागरिक लोकनाथ रेग्मी उपाध्यायको परिवारले रु ५३ लाख ६० हजार ५५१ बराबरको १३ आना जग्गादान गर्नुभएको छ ।

प्रतिक्रिया