आमचोकमा एमालेको स्वास्थ्य शिविर

इनेप्लिज २०७२ पुष २५ गते ४:४२ मा प्रकाशित

दमक, २५ पुस । नेकपा (एमाले) झापा क्षेत्र नम्बर ७ को आयोजनामा शुक्रबार दमकको आमचोकमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा हाडजोर्नी तथा नसा, महिला तथा प्रसूति र आँखा रोगको बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

भिडियो एक्स–रेसमेतको व्यवस्था रहेको शिविरमा २५० जनाको आँखा परीक्षण गरिएको थियो ।

चिकित्सकहरु ओम मेची अस्पताल दमकका शङ्करप्रसाद हुजदार, झापा होमियोपेथिक मेडिकल सेन्टर दमकका नवीन चापागार्इं, आम्दा अस्पतालका डिल्लीराज रिजाल र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शकुन्तला चापागार्इंलगायतले शिविरमा आएकाको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

शिविरको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो ।

अग्रज ज्योतिषहरु सम्मानित

नेपाल ज्योतिष परिषद्ले छ दर्जन जति पुराना अग्रज ज्योतिषलाई सम्मान गरेको छ ।

ज्योतिष परिषद्ले शुक्रबार दमकमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय भेलाका अवसर पारेर अग्रज ज्योतिषलाई दोसल्ला ओढाएर अभिनन्दन गर्नुका साथै सम्मानपत्रसहित सम्मान गरिएको हो ।

ज्योषित विद्यामा लामो समयमा काम गरेर विशिष्ठ योगदान पु¥याएको भन्दै उहाँहरुलाई सम्मान गरिएको परिषद्का चक्रपाणि गौतमले बताउनुभयो ।

परिषद्का केन्द्रीय उपाध्यक्ष भोलानाथ खरेलले अग्रज ज्योतिषलाई सम्मान गर्दै मुलुकमा शान्ति, स्थायित्व कायमका लागि ज्योतिष अगुवाको भूमिका अपरिहार्य रहेकामा जोड दिनुभयो ।

परिषद्का निर्वतमान केन्द्रीय सचिव नारदमणी न्यौपाने, क्षेत्रीय अध्यक्ष विश्वप्रकाश लामिछानेलगायतले ज्योतिष विद्याको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया