न्यानो लुगा पाए स्यामराङवासीले

इनेप्लिज २०७२ पुष २४ गते १:३६ मा प्रकाशित

चितवन, २४ पुस । बढ्दो चिसोले कठ्याङ्ग्रिएका विकट लोथरका चेपाङ समुदायले न्यानो लुगा पाएका छन् । भौगोलिक विकटता र विपन्नतासँगै जुधिरहेका लोथर–७ स्यामराङका ८६ घरपरिवारले ब्ल्याङ्केट र स्लिपिङ ब्याग तथा १६६ जना विद्यार्थीले न्यानो लुगा एवम् ऊनीको टोपी पाएका हुन् ।

हाल अस्ट्रेलिया रहेका गैँडाकोट, नवलपरासीका सन्देश पौडेलले आफूले काम गर्ने रेस्टुरेन्ट ‘कफीचक्र’मा दानपेटिकामार्फत सङ्कलन गरेको रु तीन लाख ४० हजारले खरिद गरेको न्यानो लुगा र १०० थान ब्ल्याङ्केट उहाँका बाबु चतुर्भुज पौडेलले स्यामराङ पुगेर हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै उद्योग वाणिज्य सङ्घ चितवनमार्फत कपडा व्यवसायी सङ्घले उपलब्ध गराएको ९० थान स्लिपिङ ब्याग संस्थाका अभियन्ताले वितरण गरेका छन् । जाडोको लुगा पाएपछि विपन्न चेपाङ खुसी भएका छन् । गत वैशाखमा गएको भूकम्पपछि राहत वितरण गर्ने उद्देश्यले अस्ट्रेलियामा रकम सङ्कलन गरिएको थियो । पौडेलले रेस्टुरेन्ट आएका ग्राहकले स्वतःस्फूर्त दिएको दानले नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्नुभएको हो ।

प्रतिक्रिया