अर्को वर्षा लाग्ने समय आइसक्दासमेत जस्तापाता किन्ने पैसा पाएनन्

इनेप्लिज २०७२ पुष २४ गते १:३५ मा प्रकाशित

लमजुङ, २४ पुस । वर्षायाममा भूकम्पपीडितलाई ओत लाग्ने ठाउँ बनाउने भन्दै सरकारले उनीहरुलाई दिने भनेको रु १५ हजार अझैसम्म पाउन नसक्दा पूर्वी लमजुङका नागरिक थप समस्यामा छन् ।

अर्को सालको बर्खा लाग्ने समय आउँदासमेत लमजुङका चार हजार २६८ परिवारले जस्तापाता किन्नका लागि बाँडिएको रकम पाएका छैन । गत वैशाख १२ गतेका भूकम्पले घर क्षतविक्षत बनाएपछि पूर्वी लमजुङका पीडितको बास त्रिपालमुनि नै रहेको छ । जाडो बढ्न थालेपछि तुसारो र हिउँ पर्ने थालेपछि पूर्वी लमजुङका नागरिकको बसाइ कष्टकर बनेको छ । पीडितलार्ई त्रिपालमुनिको चिसो त छँदैछ । जिल्लाका केही नागरिकले न्यानो कपडाबापतको रु १० हजारसमेत पाइसक्दा उनीहरुलाई भने रु १५ हजार राहतकै चिन्ता छ ।

सरकारले भूकम्पपीडितलाई तत्कालै रु १० हजार दिन्छ भन्ने सुनेका धेरै पीडितले त्यो रकम पाइएला भन्ने आश मारिसकेका छन् । उनीहरु भन्छन्, “धेरै कर गरेपछि मुचुल्का त उठ्यो तर राहत कहिले पाउने हो ठेगान छैन ।” भूकम्पले पूर्णरुपमा क्षति भएका लमजुङका १३ हजार ८०१ पीडितमध्ये नौ हजार ५३३ भूकम्पपीडितले मात्रै सरकारले दिएको रु १५ हजार नगद पाएको जिल्ला दैवी प्रकोप उद्धार समितिको अद्यावधिक तथ्याङ्क छ । राहत पाउन अझै चार हजार २६८ भूकम्पपीडित बाँकी छन् ।

लमजुङका भूकम्पपीडितलाई तत्कालै राहतस्वरुप रु १५ हजार नगद दिनका लागि रु २० करोड ७० लाख १५ हजार नगद आवश्यक पथ्र्यो तर जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रु १७ करोड मात्रै रकम आयो । “हामीले भूकम्पपीडितको सबै तथ्याङ्क पठाएका थियौँ”, जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मोहन अकेला भन्नुहुन्छ, “खै किन आएन त्यो रकम ।” उहाँले कोहीले पाउने कोहीले नपाउने भएपछि बाँड्दाबाँड्दै स्थगित गरिएको बताउनुभयो ।

पीडामा रहेका भूकम्पपीडितलाई सरकारले तत्कालै रु १५ हजार उपलब्ध गराउन रु १७ करोड दिए पनि त्यसमध्ये रु १४ करोड २९ लाख ९५ हजार मात्र वितरण भएको छ । बाँकी रु दुई करोड ७० लाख पाँच हजार अझै दैवी प्रकोप उद्धार समितिको खातामा छ ।

प्रतिक्रिया