उपसभापति पौडेल स्वदेश फिर्ता: आपूर्ति सहज हुनुपर्नेमा जोड

इनेप्लिज २०७२ पुष २४ गते १:२८ मा प्रकाशित

ramchandra-paudelकाठमाडौँ, २४ पुस । भारतको हरिद्वारमा भएको पतञ्जली योगपीठको कार्यक्रम तथा दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवम् मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल गएराति स्वदेश फर्कनुभयो ।

ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिनुभएको थियो ।
सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत जानकार रहेको र त्यसलाई समाधान गर्न आफूहरु क्रियाशील रहेको भनाइ भारतीय पक्षले उपसभापति पौडेलसमक्ष राखेका थिए ।

“मैले समस्याको छिटो निकास खोज्न र असहज आपूर्तिलाई छिटो सहज बनाउन भारतले तदारुकता देखाउन भने, घरभित्रको समस्या हामी आपसी संवाद, सहमति र छलफलबाट टुङ्ग्याउन क्रियाशील छौँ,” उपसभापति पौडेलले स्वदेश फर्केपछि रासससँग भन्नुभयो ।

आफूले भेटेका भारतका सबै पार्टीका नेताको नेपालप्रति सद्भाव र सहानुभूति पाएको तथा अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने धारणा राखेको पाएको समेत उपसभापति पौडेलले बताउनुभयो ।

बिहीबार काँग्रेस आईका नेता डा करण सिंहसँग भएको भेटमा नेता सिंहले नेपालमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्याको छिटो निकास खोज्नुपर्नेमा जोड दिनुभएको थियो । उपसभापति पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुसहित विभिन्न पार्टीका नेतासँग भेटवार्ता गर्नुभयो ।

दिल्ली यात्राको पहिलो दिन उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूतहरु, नेपाल जानकार सांसद डिपी त्रिपाठीलाई भेट्नुभएको थियो । यसअघि हरिद्वारमा आयोजित पतञ्जली योगपीठको कार्यक्रममा उपसभापति पौडेल सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया