अपाङ्गता भएकालाई सम्मान र पुरस्कार

इनेप्लिज २०७२ पुष २४ गते १:२४ मा प्रकाशित

बागलुङ, २४ पुस । अपाङ्ता भएका विद्यार्थी र एक व्यवसायीलाई बागलुङमा पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ ।

प्रवीण खड्का स्मृति कोष, बागलुङले कोषको आठौँ सम्मान तथा पुरस्कार वितरण समारोहमा बिहीबार चार अपाङ्गता भएका विद्यार्थी र एक फर्निचर व्यवसायीलाई सम्मान गरेको हो । जिल्लाको तित्याङ गाविसका व्यवसायी दृष्टिविहीन प्रेमबहादुर खत्रीलाई नगद रु तीन हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

यस्तै पुरस्कृत हुनेमा बौद्धिक अपाङ्गतातर्फ बागलुङ विशेष बालकक्षाका दीपक सुनार, शारीरिक अपाङ्तातर्फ कालिका कन्यामन्दिर माविका लक्ष्मी सार्की, बहिरा विद्यार्थी धवलागिरि आवासीय माविका बिपना जिसी र दृष्टिविहीनतर्फ जनता धन उच्चमाविका दीपक अधिकारी रहेका छन् ।

पुरस्कृत सबै विद्यार्थीलाई नगद रु तीन हजारसहित प्रशंसापत्र प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । कोषले बर्सेनि फरक क्षमता भएका विद्यार्थीलाई पुरस्कार र एक प्रेरक व्यक्तित्वलाई सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माले पुरस्कार तथा सम्मान प्रदान गर्दै समाजमा रहेका प्रतिभावान् विद्यार्थीलाई पुरस्कारबाट हौसला र प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।
बागलुङ बजार निवासी स्वर्गीय प्रवीण खड्काको स्मृतिमा आमा धर्मकुमारी खड्का र भाइ नवीन खड्काले विसं २०६४ मा कोषको स्थापना गर्नुभएको हो ।

प्रतिक्रिया