छुर्पीको उत्पादन घट्यो

इनेप्लिज २०७२ पुष २३ गते १५:३२ मा प्रकाशित

Rss_Images_1452155572159_GL-Ilam-Chhurpiताप्लेजुङ, २३ पुस । गोठ राख्ने चलन हराउँदै गएपछि पूर्वको ताप्लेजुङमा छुर्पीको उत्पादन बर्सेनि घट्दै गएको छ ।

पछिल्लो समय बस्तुभाउ पाल्ने व्यवसाय अर्थात् गोठ राख्ने पुरानो चलन हराउँदै गएपछि छुर्पी उत्पादन घट्दै गएको हो । काम गर्न सक्ने युवा रोजगारका लागि विदेश पलायन, गोठ राख्ने काम झन्जटिलो भएको र वैकल्पिक व्यवसाय सञ्चालन आदि कारणले गोठ राख्ने, धेरै गाईभैँसी पाल्ने चलन हराउँदै गएको स्थानीयवासीको भनाइ छ ।

केही वर्षअघिसम्म जिल्लाका धेरै क्षेत्रमा गाई गोठ भेटिने गरे पनि आजकल प्रायः कमै मात्र देखिने गरेको छ । यता छुर्पीको उत्पादन घटेसँगै यस जिल्लामा छिमेकी पाँचथर, इलामलगायतका ठाउँबाट छुर्पी ल्याएर बेच्ने गरिएको यहाँका व्यापार व्यवसायीको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटकले ताप्लेजुङकै छुर्पी खोज्ने गरे पनि यहाँको उत्पादनले मागलाई धान्न नसकेका कारण नै बाहिरबाट ल्याएर बेच्नुपरेको व्यापारीले बताएका छन् । केही समयअघिसम्म निकै न्यून रहेको छुर्पीको मूल्य एक्कासि बढेर अहिले प्रतिकिलो रु ७०० पर्ने गरेको छ ।

विगतका वर्षहरुमा जिल्लाभित्रै उत्पादन भएको छुर्पी प्रशस्तै पाउने गरेको भए पनि पछिल्लो समय पाउन मुस्किल हुने गरेको व्यापारीको भनाइ छ । जिल्लामा उत्पादन भएको छुर्पी मुलुकका विभिन्न ठाउँका साथै विदेशमा समेत निर्यात हुने गरेको छ ।

प्रतिक्रिया