भूपू गोर्खाहरु सच्चा एनआरएन हुन्ः अध्यक्ष घले

इनेप्लिज २०७२ पुष २० गते २२:१५ मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायती गोर्खा सैनिकहरुको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघले पहलकदमी लिने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन निर्माणका लागि रकम संकलन कार्यक्रममा सहभागी हुन बेलायतमा रहनुभएका अध्यक्ष घलेले भूपू गोर्खा सैनिकहरुका बिभिन्न संस्थाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै समस्या समाधानका लागि अग्रसरता लिने प्रतिबद्धता जनाउनुभएको हो । गैरआवासीय नेपाली संघले भूपू गोर्खाहरुको मुद्दालाई समेटन नसकेको भन्दै सहभागीहरुले गुनासो गरेपछि अध्यक्ष घलेले यस्तो बताउनुभएको हो ।

‘बर्षौंदेखि बेलायतमा बसोबास गर्दै आउनुभएका र यहींको स्थायी बसोबास गरिरहनुभएका तपाईँ गोर्खाहरु एनआरएन नभए अरु को हुनसक्छ ?’ अध्यक्ष घलेले भन्नुभयो-‘भूपू गोर्खा सैनिकहरु सच्चा एनआरएन हुन् ।’

गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा भएको सो कार्यक्रममा अध्यक्ष घलेले बेलायत सरकार र नेपाल सरकारसँग सम्बन्धित मुद्दाहरु धेरै रहकाले बेलायतमा गोर्खासँग सम्बन्धित संस्थाहरुको अगुवाईमा र नेपालमा गैरआवासीय नेपाली संघको अगुवाईमा समस्या समाधानका लागि पहलदमी लिनुपर्ने बताउनुभयो । ‘बेलायतमा एनआरएन तपाईहरुको पछि लाग्छ, नेपालमा तपाईहरु एनआरएनको पछि लाग्नुस्’ अध्यक्ष घलेले भन्नुभयो- जसको जहाँजहाँ स्रोतसाधन र पहुँच छ, त्यहींबाट समस्या समाधानका लागि पहल गरौं ।’

भूपू गोर्खाहरुको मुद्दालाई एनआरएनले आत्मसात गरिदियोस् भन्नु गैरआवासीय नेपाली संघप्रतिको आशा र बिश्वासका रुपमा आफुले लिएको अध्यक्ष घलेले बताउनुभयो । भूपू गोर्खाहरुको मागलाई कसरी उठाउने र त्यसमा केके कानुनी अड्चनहरु छन् भन्ने बिषयमा विस्तृत अध्ययन गरेपछि अर्को छलफलमा बस्ने अध्यक्ष घलेले बताउनुभयो ।

कार्यक्रममा एनआरएन युरोप क्षेत्रीय संयोजक कुल आचार्य, सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएन युकेका अध्यक्ष एवं पदाधिकारीहरु लगायतको सहभागीता थियो । गैरआवासीय नेपाली संघले भूपू गोर्खाहरुको समस्याका बिषयमा सामूहिक छलफल गरेको यो पहिलोपटक हो । दुई घण्टासम्म चलेको अन्तरक्रिया कार्यक्रममा भूपू गोर्खासँग सम्बन्धित बिभिन्न संस्थाका दुई सयभन्दा धेरै प्रतिनिधिहरुको उपस्थीति थियो ।

एनआरएन र अन्य संस्था मिलेर काम गर्नुपर्छः घले

यसैवीच तमधीं युकेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले नेपालबाहिर रहेका सवै नेपालीको हितमा गैरआवासीय नेपाली संघले काम गरिरहेको बताउनुभयो ।
‘नेपाल र सार्क मुलुकबाहिर जुनसुकै मुलुकमा बसेका जोसुकै नेपालीहरु, चाहे तपाईँ गोर्खा समुदायको हुनुहोस् वा पेशाकर्मी, आप्रवासी कामदार हुनुहोस् वा बिद्यार्थी तपाइँहामी सवै गैरआवासीय नेपालीहरु हौं ।’ अध्यक्ष घलेले भन्नुभयो-म यहाँहरुलाई निवेदन गर्न चाहान्छु कि, गैरआवासीय नेपाली संघले यहाँहरु सवैका लागि काम गरिरहेको छ, चाहे गैरआवासीय नेपाली संघको सदस्य हुन् वा नहुन् ।’

विदेशमा वस्ने नेपालीहरुको विभिन्न संस्था हुनु स्वभाविक हो भन्दै अध्यक्ष घलेले समुदाय तथा मातृभूमीका लागि सहअस्तित्व र सहकार्यको भावनाका आधारमा हातेमालो गर्नुपर्ने बताउनुभयो । ‘ यसो गर्दा हाम्रो समुदाय झन् बलियो बन्दै जान्छ, हामी ठूलो शक्ति र स्रोतसाधनयुक्त बनेर समुदाय र मातृभूमीको सेवा गर्न सक्छौं ।’ अध्यक्ष घलेले भन्नुभयो ।

तमुधीं युकेले भूकम्पका बेला एक करोड रुपैयाँ भन्दा धेरै संकलन गरी एनआरएनए मार्फत् नेपाल पठाएको स्मरण गर्दै मातृभूमीका लागि सहयोग गर्ने सवै सहयोगी मनहरुप्रति आभार प्रकट गर्नुभयो । गैरआवासीय नेपाली संघले राष्ट्र पुनःनिर्माणमा साझेदारी गर्ने लक्ष्यसहित काम गरिरहेको भएपनि संघ आफै सबल बन्न नसकेको उहाँले बताउनुभयो । संस्थाको सवलीकरण र दीगोपनका लागि आफ्नै भवन निर्माण गर्ने अभियान थालिएको भन्दै उहाँले यो अभियानमा सहयोग गर्ने सवैलाई हार्दिक आभार प्रकट गर्नुभयो ।

एनआरएन भवन बनाउन डेढ करोड बढी संकलन

यसैवीच अध्यक्ष शेष घलेको उपस्थीतिमा लण्डनमा भएका बिभिन्न कार्यक्रमबाट गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन निर्माणका लागि करिव डेढ करोड रुपैयाँ संकलन भएको छ । एनआरएन युके अध्यक्ष मुछेत्र गुरुङका अनुसार रकम संलकन अभियान अहिले पनि जारी छ र यो क्रम अझै चलिरहने छ । एनआरएन भवनका लागि सहयोग गर्न चाहाने दाताहरुले एनआरएन युकेलाई सम्पर्क गरिरहेको जानकारी दिँदै उहाँले कुल रकम यकिन हुन अझै केही दिन लाग्ने बताउनुभयो ।

धन्यबाद ।

रञ्जु थापा वाग्ले
प्रवक्ता
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्

मितिः २०७२ पुस २० गते

प्रतिक्रिया