मेची पुल पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन

इनेप्लिज २०७२ पुष १८ गते ११:१५ मा प्रकाशित

bijaya-gachhedar_295भद्रपुर, १८ पुस । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगत निरीक्षण एवम् अवलोकनपछि पत्रकारसँगको भेटघाटमा उहाँले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताउँदै ती दलले सरकारको वार्ता टोलीसँग निर्णायक वार्ता गरेर समास्याको समाधान खोज्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले प्रदेश र सीमाङ्कनका विषयमा मधेसवादी दलले गरिरहेको आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि वार्ता र छलफलबाट निकास खोज्नु उत्तम हो भन्दै भारतको अघोषित नाकाबन्दी छिट्टै हट्ने विश्वास दिलाउनुभयो । नाकाबन्दी र आन्दोलनका कारण देशमा अहिले रु छ खर्बको क्षति भएको जानकारी उहाँले दिनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले निर्माणाधीन मेची पुल आगामी पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले झापाको केचनादेखि चारआलीसम्मको ग्रामीण हुलाकी बाटो निर्माण गर्न केही प्राविधिक त्रुटि रहेको जानकारी दिँदै सोको निर्माणका लागि जिम्मामा रहेको भारत सरकारसँग पनि पहल गरिने बताउनुभयो ।

सुनसरीको दुहबीदेखि पश्चिम झापाको भद्रपुरसँग जोड्ने क्षेत्रीयस्तरको एक सडक निर्माण हुने बताउँदै उपप्रधानमन्त्री गच्छदारले सो बाटोमा पर्ने देवनिया खोलाको निर्माणाधीन पुलको पनि निरीक्षण एवम् अवलोकन गरी सम्बन्धित निकायलाई निर्माणको काममा गति दिन निर्देशन दिनुभयो ।

प्रतिक्रिया