छड्के जाँचमा मापसे गर्ने ३२ चालक प्रहरीको नियन्त्रणमा

इनेप्लिज २०७२ पुष १८ गते ३:४७ मा प्रकाशित

रत्ननगर (चितवन), १८ पुस । प्रहरीले मापसे गरेर सवारी चलाउँदै गरेका ३२ चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मापसेविरुद्ध छुट्टाछुट्टै स्थानमा गरिएको जाँच अभियानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गएको २४ घन्टाको अवधिमा ट्राफिक प्रहरीले १६ जना र जिल्ला प्रहरी कार्यालय चितवनले १६ जना मापसे गरेर सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकालाई आवश्यक कारबाहीसहित जरिवाना लिएर छाडिने प्रहरीले जनाएको छ । मापसे गर्नेमा सरकारी अधिकारीदेखि एम्बुलेन्स चालक तथा प्रतिष्ठित व्यक्तिसमेत पर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै ट्राफिक प्रहरीले गएराति गरेको सवारी जाँचका क्रममा नियम उल्लङ्घन गरेर हिँड्ने १६२ चालकलाई कारबाही गरेको छ । कारबाहीमा उनीहरुबाट रु एक लाख तीन हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नियम उल्लङ्घन गर्नेमा बढी मोटरसाइकल र दोस्रोमा ट्रकले रहेको पाइएको छ । मोटरसाइकलमा हेलमेट नलगाउने, लाइसेन्स तथा ब्लूबुक नबोक्ने, तीन जना चढेर हिँड्ने गरेको छ भने ट्रक ओभरलोड बोक्ने तथा नियम विपरीत चलाउने गरेको पाइएको छ ।

प्रतिक्रिया